नेपालगञ्ज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) बाँकेको जिल्ला भेला शनिबार नेपालगञ्जमा सम्पन्न भएको छ । संगठनका महासचिव महेशराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नयाँ जिल्ला समितिको चयन गरेको छ ।
समितिको अध्यक्षमा नमराज चन्द, उपाध्यक्ष कालीबहादुर डाँगी, सचिव राजु चौधरी, सहसचिव सुनिल चौधरी र कोषाध्यक्ष विपिन धामी चयन हुनुभएको छ । सदस्यहरुमा युवराज उपाध्याय, अस्मिता श्रेष्ठ, कमला शाही, माया शाही, गमला कुमारी बुढा, नारायण घर्ती क्षेत्री तथा वैकल्पिक सदस्यमा सपना परियार, रितुसिंह ठकुरी, मिना बिक र अनामिका सुनार चयन हुनुभएको छ ।
उद्घाटन समारोह सुरु हुनअघि विद्यार्थीहरुको जुलुशले नेपालगञ्ज नगर परिक्रमा गरेको थियो । विपीचोक, जिल्ला प्रशासन, जिल्ला अदालत रोड हुँदै गणेशमानचोकस्थित होटल इन्द्रेणीको सभाहलमा भेलाको कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव महेश जोशीले काठमाडौं केन्द्रित संघीयता विरुद्धको विद्यार्थी मार्चबारे जानकारी दिनुभएको थियो । जोशीले विदेशीको इशारामा भित्राइएको संघीयताले देश टुक्राउन लागेको भन्दै विद्यार्थी शक्तिको बलमा संघीयता खारेज गरेरै छोड्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
उद्घाटन कार्यक्रममा अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डे, राजमो जिल्ला अध्यक्ष भिमप्रसाद देवकोटा, उपाध्यक्ष जगदिश ढकाल, राजमो मुगुका अध्यक्ष जयबहादुर खड्का, अखिल (छैठौं) का केन्द्रीय सदस्य पुरन पोखरेल र हरिबहादुर बुढा, अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष पुर्णकला भण्डारी, अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष बुद्धिप्रसाद बञ्जाडे, जातीय समता समाजका केन्द्रीय सदस्य मानबहादुर सुनार, अखिल (छैठौं) बाँकेका पूर्व अध्यक्ष केशवराज शाही, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष भरतकुमार खड्का, राजमो बाँकेका पूर्व अध्यक्ष गौरिलाल कार्कीलगायत नेताहरुले आतिथ्यता रहेको थियो ।
अखिल (छैठौं) का जिल्ला अध्यक्ष नवराज चन्दको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।