काठमाडौं । साउदी अरबमा एक जना नेपाली युवकलाई मृत्युदण्ड दिइएको छ । उदयपुरका विवेक दाहाललाई साउदी अरब सरकारले मृत्युदण्ड दिएको हो ।
रियादस्थित नेपाली दूतावासका अनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो ।
विवेक १५ वर्षदेखि साउदीको जेलमा थिए । उनले सन् २००७ सालमा मोरङका राजेन्द्र विष्टको हत्या गरेका थिए । सो घटनामा घाइते भएका सुडानी नागरिकको दुवै आँखामा क्षति पुगेको थियो ।
विवेकलाई मृत्युदण्ड नदिन नेपाल सरकारले बारम्बार आग्रह गरेको थियो । तर, नेपाल सरकारको आग्रहलाई अस्वीकार गर्दै साउदी सरकारले मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो।
उनलाई मृत्युदण्ड दिइएको ४८ घन्टापछिमात्र नेपाली दूतावासलाई सूचना दिइएको छ । उनको शवलाई परिवारको सहमतिबिनै दफन गरिएको बताइएको छ।
साउदीसहित प्रमुख गन्तव्य मुलुकमा कम्तीमा १० नेपालीले मृत्युदण्डको सजाय पाइसकेका छन्। विभिन्न अपराधमा सजाय पाएका झन्डै ५ सय नेपाली जेलमा छन्।