काठमाडौँ । भारतले बजेटमा घोषणा गरेको डिजिटल मुद्रालाई यस वर्ष कार्यान्वयनमा ल्याएको छ ।
भारतले मंगलबारदेखि डिजिटल मुद्रा परीक्षणकै रुपमा चलनचल्तीमै ल्याइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
आरबीआईले परीक्षणका क्रममा होलसेल ट्रान्जेक्सन र क्रस बोर्डर पेमेन्टमा यस्तो मुद्रा प्रचलनमा ल्याएको हो । यस परीक्षणका लागि ९ वटा बैंकहरू समावेश गरेको छ ।
डिजिटल मुद्राको प्रचलनसँगै अब मानिसहरूले नगदमा निर्भर रहनु पर्ने बाध्यता हट्ने छ । डिजिटल करेन्सी प्रचलनमा आउनु अगाडि कारोबारका लागि नगद वा चेक अथवा कुनै बैंकिङ प्रणालीका माध्यमबाट भइरहेको थियो ।
अब भने डिजिटल नोटमा कुनै ‘हार्ड करेन्सी’ हुने छैन । ‘वालेट टू वालेट’ कारोबार सम्भव हुनेछ । यसले निकट भविष्यमा निश्चित रकमसम्मको कारोबार डिजिटल करेन्सीबाट अनिवार्य गर्दा कालोधन राख्ने प्रवृत्तिको अन्त्य हुने र सबै कारोबार रेकर्ड केन्द्रीय बैंकसँग रहने अर्थविद्हरूले बताएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । यसको कारोबारलाई सरकारले प्रणालीमार्फत् प्रत्यक्ष निरन्तर निगरानी समेत गर्न सक्नेछ ।
डिजिटल करेन्सी प्रचलनमा आएपनि तत्काल भौतिक मुद्रा भने प्रचलनबाट हराउने छैन । पहिलो चरणमा ठूलो कारोबारमा आएको मुद्रा आम सर्वसाधारणमा प्रचलनमा आउन भने समय लाग्नेछ ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार यस्तो वालेटमा कारोबारको लिमिट तोकिएको हुन्छ । तर, डिजिटल करेन्सीमा यस्तो लिमिट हुने छैन ।
ठूलो रकम एकै पटक पठाउन ई–वालेटले काम नगरेको अवस्थामा अब डिजिटल मुद्राले सहजता ल्याउने समेत भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।