काठमाडौं । नेपालबाट भारत निर्यात हुने प्रमुख बस्तु पाम तेललाई भारतले कडाई गरेपछि यसबारे बहस सुरु भएको छ । नेपालले निर्यात गर्ने वस्तुमा पाम तेल मुख्य रहेको र भारतको पछिल्लो कदमले नेपाली निर्यात प्रभावित हुने देखिएपछि सरकारले भारतसँग कुरा गर्न लागेको जनाएको छ ।
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले भारतमा ११ अर्ब ५२ करोडको पाम तेल निर्यात गरेको भन्सार विभागले जनाएको छ।
यति ठुलो परिमाणमा निर्यात हुने बस्तुमाथि भारतले बुधबारदेखि कडाई गरेपछि नेपाली अर्थतन्त्रमा नकारात्मक असर पर्ने विज्ञहरु बताउँछन् । यद्यपी भारतले पाम तेलमा गरेको कडाई नेपालबाट निर्यात हुनेमा भन्द पनि अन्य देशबाट आयात हुनेतर्फ संकेत गरेको उनीहरुको बुझाई छ ।
भारतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)ले बुधबार प्रशोधित पाम तेल आयातमा कडाइ गरेको थियो। सोलगत्तै आज नेपालले आन्तरिक छलफल थालेको छ। भारतमा पाम तेल निर्यात गर्दै आएको नेपाललाई प्रत्यक्ष असर पुग्ने देखिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीसँग बिहीबार छलफल गरेको हो।
छलफलमा पाम तेल उत्पादन तथा निर्यात व्यापार गर्ने व्यवसायी, नेपाल उद्योग वणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका प्रतिनिधि सहभागी थिए।
भारतले पूर्ण प्रतिबन्धभन्दा पनि पाम तेल आयातमा कडाइ गरेको हो। यसको मतलब अब भारतीय व्यवसायीले केन्द्र सरकारसँग अनुमति लिएर मात्र यसको आयात गर्न पाउनेछन्। डीजीएफटीले आयात कानुनमा संशोधन गरी यसअघि खुल्ला रुपमा आयात हुँदै आएको पाम तेललाई ‘आयात कडाइ’ अर्थात् ‘रेस्ट्रिक्सन’ श्रेणीमा राखेको हो।
नेपालले भारतमा प्रशोधित र कच्चा पाम तेल निर्यात गर्दै आएको छ। पाम तेल निर्यातकै कारण नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थाल्दा भारतको पछिल्लो निर्णयले केही समययता बढेको निर्यात व्यापारमा धक्का पुग्ने देखिएको हो।
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले भारतमा ११ अर्ब ५२ करोडको पाम तेल निर्यात गरेको भन्सार विभागले जनाएको छ। उक्त अवधिमा नेपालले ११ करोड १७ किलोग्राम प्रशोधित पाम तेल निर्यात गरेको छ। यो अवधिमा नेपालले कच्चा पाम तेल पनि निर्यात गरेको छ। विभागको तथ्यांकअनुसार पाँच महिनामा २ लाख ६७ हजार किलोग्राम अर्थात् २ करोड ७२ लाखको कच्चा पाम तेल निर्यात गरेको छ।
भारतले मलेसिया, इन्डोनेसिया लगायतका देशबाट ठूलो परिमाणमा पाम तेल आयात गर्दै आएको छ। भारतले इन्डोनेसिया र मलेसियाबाट सबैभन्दा धेरै ९० लाख टन पाम तेल आयात गर्छ। बाँकी ६० लाख टन भटमास र सूर्यमुखी तेल आयात गर्छ। भारतले आयात गर्ने खाद्य तेलमध्ये ३० प्रतिशत पाम तेल मलेसियाबाट आउँछ। त्यस्तै ७० प्रतिशत पाम तेल इन्डोनेसियाबाट आउँछ। भारतले तेल प्रशोधन गर्ने कम्पनीलाई कच्चा पाम तेल इन्डोनेसियाबाट आयात गर्न पनि सल्लाह दिएको बुझिएको छ।
