धनुषा । खोलाबाट अवैध उत्खननको विरोध गर्ने युवकको टिपर किचेर हत्या गरेको विरोधमा धनुषामा प्रदर्शन भएको छ । प्रदर्शनकारीलाई तितरवितर बनाउन प्रहरीले १० राउण्ड भन्दा बढी अश्रुग्यास प्रहार गरेको छ ।
हत्याको विरोधमा स्थानीयले टायर बालेर श्रीपुरस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
अवैधरुपमा खोला उत्खननको विरोध गर्ने धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको टिपरले ठक्कर दिँदा मृत्यु भएको हो । महतो भारतमा इन्जिनियरिङ पढ्दै थिए ।
शुक्रबार बिहान अन्दाजी पाँच बजे छिमेकी साथी रोशन यादवसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
प्रहरी अधिकारी र स्थानीय प्रत्यक्षदर्शीले लामो समयदेखि उत्खननको विरोध गर्दै आएका महतोको नियोजित रुपमा हत्या गरिएको बताएका छन् ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगतै प्रहरी पुगेर शव बरामद गरेको छ । टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनापश्चात् टिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाउँलाई नै जोखिममा पर्ने गरी औरही–बसही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन्को दिलिपको नेतृत्वमा गाउँलेले विरोध गर्दै आएको थिए ।

