काठमाडौँ । नेकपा (मसाल) ले धनबहादुर थापाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७९ कात्तिक १२ गते जारी शोकवक्तव्यमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
शोकवक्तव्यमा थापालाई लामो समयदेखि नेकपा (मसाल) को पार्टीसदस्य रहेको, विभिन्न जिम्मेवारीमा रही काम गरेको इमानदार, अनुशासित र प्रतिबद्ध कमरेड भनिएको छ ।
थापाको निधनबाट पार्टीलाई गम्भीर क्षति पुगेको बताइएको सो प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“मोरङ जिल्ला लेटाङ नगरपालिका–२ राईचोक निवासी का. धनबहादुर थापा (का. भीष्म) को मृत्यु भएको छ । उहाँ लामो समयदेखि सुगर र प्रेसर रोगबाट पीडित रहँदै आउनुभएको थियो । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. थापा लामो समयदेखि हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँले पार्टीका विभिन्न तह र जनवर्गीय मोर्चाका विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो । उहाँ इमान्दार, अनुशासित र आस्थाप्रति प्रतिबद्ध हाम्रो पार्टीको असल सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति पुगेको छ ।
अन्तमा, हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”