काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मङ्सिर ४ गतेको चुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउनु भनेको प्रतिगमनलाइ हराउनु भएको बताउनुभएको छ ।
राजमो बागलुङ–काठमाडौँ सम्पर्क समितिको आयोजनामा बागलुङबाट काठमाडौँ आइबसेका पाँचदलीय गठबन्धनसम्बद्घ सम्पर्क समितिका सदस्यमाझ २०७९ कात्तिक ११ गते सम्पन्न चियापान तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले यस्तो धारणा राख्नुभएको हो ।
काठमाडौँको ठुलोभर्याङस्थित क्वालिटी क्याफेमा सम्पन्न कार्यक्रममा प्रमुख वक्ता बागलुङ प्रतिनिधि सभा क्षेत्र नं. १ मा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी हुनुहुन्थ्यो ।
‘सामान्य रूपमा हेर्दा मङ्सिर ४ गतेको चुनाव प्रत्येक पाँच वर्षमा हुने चुनाव हो’ अध्यक्ष केसीले भन्नुभयो– ‘तर यो चुनाव प्रतिगमनका पक्षधर र विरोधीको माझको गम्भीर सङ्घर्ष पनि हो ।’
उहाँले यो चुनावमा प्रतिगमनका पक्षधरको विजय भएमा गत जनआन्दोलनका उपलब्धिहरू गुम्ने बताउनुभयो ।
‘यो आन्दोलनमा एमाले, राप्रपा जस्ता शक्तिहरूले जितेमा गत २०६२–६३ सालको जनआन्दोलनको उपलब्धि गुम्ने छन्’ उहाँको भनाइ थियो ।
यो चुनावमा गठबन्धनका सबै नेता–कार्यकर्ताले प्रतिगमन विरुद्धको सङ्घर्षप्रति ध्यानकेन्द्रित गर्नुपर्नेमा उहाँको जोड थियो ।
अर्को प्रसङ्गमा केसीले भन्नुभयो– ‘सबै पार्टीभित्र सानातिना असन्तुष्टिहरू हुनु स्वाभाविक भए पनि ती असन्तुष्टिलाई व्यवस्थापन गर्नु सम्बन्धित दलकै जिम्मेवारी हो ।’
उहाँले आन्तरिक असन्तुष्टिको प्रभाव पाँचदलीय चुनावी तालमेलमा पर्न नहुने बताउनुभयो । त्यसका लागि सबै दलले आआफ्नो पार्टीमा काम गर्नुपर्ने उहाँको विश्लेषण थियो ।
कार्यक्रममा नेकपा (माओवादी–केन्द्र) का सचिव तथा पूर्वमन्त्री दिनानाथ शर्माले गठबन्धन अहिलेको देशको राष्ट्रिय आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा राजमो नेता कृष्ण अधिकारीले बागलुङको चुनावी वस्तुस्थितिको बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा पाँच दलसम्बद्ध सम्पर्क समितिका पदाधिकारीहरूले निर्वाचनकेन्द्रित सुझाव राख्नुभएको थियो ।
कार्यक्रमको संयोजन राजमो बागलुङ–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष रमेश पौडेलले गर्नुभएको थियो ।
