विराटनगर । राष्ट्रिय जनमोर्चा मोरङका पूर्व जिल्ला सदस्य धनबहादुर थापाको निधन भएको छ । सुगर, प्रेसरबाट पीडित थापाको २०७९ कात्तिक ११ गते साँझ ७ बजे आफ्नै निवास लेटाङ नगरपालिका–२ राईचोकमा निधन भएको हो ।
उहाँको दाहसंस्कार केही घण्टापछि गरिने पारिवारका सदस्यहरूले जानकारी गराएका छन् ।
नेकपा (मसाल) को सदस्यसमेत रहनुभएका थापाको पार्टीमा टेक नाम क. भीष्म रहेको तथा उहाँ २०५८ सालदेखि नेकपा (मसाल) को पार्टीसदस्य रहनुभएको जिल्ला पार्टीले जनाएको छ ।
२००६ असार १३ गते बागलुङ जैमिनी नगरपालिका–७ बोर (साविक जैदी गाविस) मा बुबा देविराम थापा र आमा माया थापाको कोखबाट जन्मुनभएका थापाको जुरामाया राईसित २०६१ सालमा काठमाडौँमा विवाह भएको थियो । उहाँका एक छोरा (रज्जित) र एक छोरी (रचना) हुनुहुन्छ ।
भारतको मद्रासमा जागिर गर्ने क्रममा उहाँले तत्कालीन अखिल नेपाल जनजाति सम्मेलन भारत शाखाअन्तर्गत सन् १९९१ मा काम गर्नुभएको थियो । सन् १९९३ देखि पेसेवर कार्यकर्ता बन्नुभएका थापा सन् १९९४ मा नेपाल आउनुभएको थियो ।
नेपालमा जनजाति सम्मेलनको केन्द्रीय कार्यालयमा बसेर काम गर्नुभएका थापाले सन् १९९६–२००० सम्म पार्टीनिकट विविध पुस्तक पसलमा तथा २००१–०५ सम्म नेकपा (मसाल) को सम्पर्क कार्यालय बुटवलमा बसेर काम गर्नुभएको थियो । तत्पश्चात् २००५ देखि २०११ सम्म पार्टीनिकट बुटवलस्थित विश्व नेपाली पुस्तक पसलमा काम गर्नुभयो ।
शारीरिक अस्वस्थताका कारण पार्टटाइमर कार्यकर्ता बन्नुभएका थापा वि.सं. २०७३ सालमा रुपन्देहीबाट बसाइँ सरेर मोरङ आउनुभएको थियो ।
नेकपा (मसाल) को जिल्ला पार्टीले दिएको जानकारीअनुसार उहाँ बुटवल र मोरङमा रहँदा पार्टीको निर्देशनमा रही इमानदारितापूर्वक विभिन्न जिम्मेवारी सफलतापूर्वक वहन गर्नुभएको थियो ।