ढाका । बङ्गलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले चीनले भारतलाई कहिल्यै पनि रणनीतिक प्रतिद्वन्द्वीका रूपमा नहेरेको बताएका छन् ।
ढाका प्रेस क्लबमा बुधबार भएको एक कार्यक्रममा उनले त्यसका विपरीत आर्थिक, भू राजनीतिक एवम् अन्य समस्या समाधान गर्न भारत र चीनले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
भारतका लागि चिनियाँ राजदूत सन वेइडोङले आफ्नो चारबर्से कार्यकाल पूरा गरेर स्वदेश फर्कनुअघि ‘हामी भारतलाई चीनको रणनीतिक रणनीतिक प्रतिद्वन्द्वीको रूपमा कहिल्यै हेर्दैनौँ, भारत र चीन दुवैले भू राजनीतिको जालबाट बाहिर निस्केर विगतभन्दा फरक नयाँ बाटो खोज्नुपर्छ’ भनेको केही दिनपछि राजदूत लीबाट यो टिप्पणी आएको हो ।
राजदूत सुनले भारत र चीनबिचका मतभेद समाधान गर्दै एकार्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई कायम राख्नुपर्नेमा जोड दिएका थिए । बेइजिङ र नयाँदिल्लीले मतभेदको व्यवस्थापन र समाधानको प्रयास गर्नुपर्नेमा जोड दिँदै उनले चीन–भारत सम्बन्धलाई मतभेदले परिभाषित गर्नुको सट्टा वार्ता र परामर्शबाट उचित समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
चिनियाँ राजदूतसँगको बिदाइ भेटपछि भारतका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करले चीन–भारत सीमाक्षेत्रमा शान्ति कायम गर्न तथा शान्तिपूर्ण द्विपक्षीय सम्बन्धलाई अक्षुण्ण राख्न अपरिहार्य भएकामा जोड दिँदै भारत–चीन सम्बन्ध सामान्यीकरण हुनु दुवै देशका लागि मात्र नभई एसिया र समग्र विश्वको हितमा रहेको बताएका थिए ।
सन् २०२० मा लद्दाखको दोक्लाममा भएको दोहोरो झड्पपछि चिसिएको चीन–भारत सम्बन्धलाई पुनः पुरानै अवस्थामा फर्काउन तथा आपसी सम्बन्धलाई व्यवस्थित गर्न दुवै पक्षले प्रयास गरिरहेका छन् । (रासस/एएनआई)





