मोहनविक्रम सिंह
सर्वप्रथम ५ दलीय गठबन्धनबारे केही प्रकाश हाल्नुपर्ने आवश्यकता छ । प्रथम, अहिलेको गठबन्धन भनेको मुख्य रूपले ५ दलीय चुनावी तालमेल नै हो । तैपनि अहिलेको नेपालको राजनीतिमा गठबन्धन एउटा प्रचलित शब्द बनिसकेको छ । त्यसैले यो लेखमा गठबन्धन शब्दलाई पनि प्रयोग गरिएको छ । द्वितीय पहिले गठबन्धनमा भएका ५ दल मध्ये एउटा त्यसबाट हटिसकेको छ । तैपनि नेपालको राजनीतिमा अहिले पनि ५ दलीय गठबन्धन नै भन्ने प्रचलन छ । त्यसैले यो लेखमा ५ दलीय गठबन्धन भन्ने शब्दलाई पनि प्रयोग गरिएको छ ।
५ दलीय गठबन्धनमा सामेल भएका अन्य सबै पक्षहरूसित गतकालमा हाम्रो पार्टीको तीब्र मतभेदहरू हुने वा सङ्घर्ष पनि चल्ने गरेको कुरा आम रूपमा थाहा नै छ । तर, राजनीतिमा मतभेद वा सङ्घर्ष भएका पक्षहरूसित पनि तत्कालीन राजनीतिका आवश्यकता अनुसार एकता हुने गर्दछ । विश्वको राजनीतिक इतिहासमा त्यस प्रकारका थुप्रै उदाहरण पाइन्छन् । नेपालको राजनीतिक इतिहासमा पनि त्यस प्रकारका उदाहरणहरूको कम छैन । २०४६ र २०६२–६३ सालमा भएका आन्दोलनका उदाहरण हाम्रा अगाडि छन् । ५ दलीय गठबन्धनले पनि त्यही परम्परालाई अगाडि बढाएको छ ।
अहिलेको ५ दलीय गठबन्धनका सन्दर्भमा मानिसहरूले नेकासितको हाम्रो पार्टीको सहकार्यबारे धेरै प्रश्न उठाउने वा टिकाटिप्पणीहरू गर्ने गरेका छन् । प्रश्न नेकाको मात्र होइन, माओवादीसित पनि गतकालमा हाम्रो तीब्र मतभेद र सङ्घर्षहरू रहने गरेका छन् । हाम्रो पार्टीको सबैभन्दा बढी सैद्धान्तिक सङ्घर्ष गतकालमा माओवादीसित नै भएको छ । तर कुनै पक्षसित एकपटक मतभेद वा सङ्घर्ष भएका कारणले त्योसित पुनः कहिल्यै एकता नगर्ने सोचाइ राजनीतिक दृष्टिकोणले अपरिपक्व र माक्र्सवादी शब्दावलीमा अधिभूतवादी सोचाइ हो ।
अहिले गठबन्धले विभिन्न निर्वाचन क्षेत्रका लागि सहमतिका उम्मेदवारहरू ठेगान गरेको छ । उम्मेदवाहरूको सङ्ख्यामाथि सरसरी रूपले विचार गर्ने हो भने पनि यो कुरा प्रष्ट हुन्छ कि, गठबन्धनको समझदारीलाई लागू गर्ने सन्दर्भमा सबैभन्दा बढी इमान्दारिता राष्ट्रिय जनमोर्चाले नै देखाएको छ । पहिले स्थानीय चुनावको बेलामा एमालेसँग कतैपनि तालमेल नगर्ने ५ दलीय समझदारी भएको थियो । तर ५ दलहरू मध्ये खाली राजमोले मात्र त्यो समझदारीलाई इमान्दारितापूर्वक लागू गरेको थियो । अहिले प्रतिनिधि सभा वा प्रदेश सभामा सहमतिका उम्मेदवारहरू ठेगान भएपछि अन्य पक्षहरूले कैयौँ स्थानहरूमा वागी उम्मेदवारहरू उठाएका छन् । तर राजमोले मात्र त्यसरी कुनै पनि स्थानमा एकजना पनि बागी उम्मेदवार वा सहमतिका उम्मेदवार बाहेक अन्य उम्मेदवारहरू उठाएको छैन । कतिपय ठाउँमा प्रतिनिधि सभा वा प्रदेश सभामा उठाएका उम्मेदवारहरूलाई पनि फिर्ता गरेको छ । त्यसरी के कुरा प्रष्ट हुन्छ भने, नेपालको राजनीतिमा राजमो नै एउटा यस्तो राजनीतिक पार्टी हो, जसले नीतिगत रूपमा सबैभन्दा उच्च र श्रेष्ठ भूमिका प्रदर्शन गरेको छ ।
अहिलेको राजनीतिक आवश्यकता यो हो कि प्रतिगमनलाई पराजित गर्नको लागि ५ दलीय गठबन्धनका बीचमा व्यापक एकता हुनुपर्ने आवश्यकता छ र चुनावका बेलामा त्यो एकता ठोस रूपले प्रमाणित हुनुपर्ने आवश्यकता छ । ५ दलीय गठबन्धनका विभिन्न पक्षहरूका बीचमा विभिन्न प्रकारका मतभेदहरू रहने गरेको कुरा एउटा वास्तविकता हो । त्यस प्रकारका मतभेदहरूका कारणहरू बेग्लाबेग्लै रहेका छन् । प्रथम, हाम्रा बीचमा सैद्धान्तिक र नीतिगत रूपमा कैयौँ मतभेदहरू रहेका छन् । द्वितीय गतकालमा हाम्रा बीचमा सैद्धान्तिक, राजनीतिक र व्यवहारिक रूपमा पनि कैयौँ सङ्घर्ष चल्ने गरेका छन् । तृतीय, अहिले चुनावका बेलामा टिकट नपाएको कारणले ५ दलभित्रका कैयौँ नेता वा कार्यकर्ताहरू असन्तुष्ट भएका छन् । उक्त कारणहरूले गर्दा ५ दलभित्रका विभिन्न नेता वा कार्यकर्ताहरूमा गठबन्धन वा त्यसका तर्फबाट प्रतिनिधि सभा वा प्रदेश सभामा उठेका उम्मेदवारहरूप्रति असन्तुष्टिको भाव पनि देखा परेको छ । हाम्रो जोड वा आग्रह यो कुरामा छ कि, गठबन्धन पक्षधर सबै शक्तिहरू त्यस प्रकारका सबै कुराहरूबाट माथि उठ्नुपर्दछ । त्यस प्रकारका कुराहरूबाट माथि उठेर हाम्रो मुख्य ध्यान यो कुराप्रति जानुपर्दछ : आजको देशको मुख्य राजनीतिक आवश्यकता के हो ? हामीले देशको प्रधान आवश्यकताबाट ध्यान हटाएर गौण महत्वका व्यक्तिगत वा भावनात्मक प्रकारका कुराहरूमाथि ध्यान केन्द्रित ग-यौँ भने त्यसबाट फाइदा प्रतिगमनलाई नै पुग्ने छ । अहिलेको चुनावमा प्रतिगमन विजय भयो भने त्यसका कैयौँ दीर्घकालीन दुष्परिणाम हुने छन् । त्यसको फल सम्पूर्ण देश र जनताका साथै ५ दलीय गठबन्धन भएका सबै पार्टीहरूले भोग्नुपर्ने छ । त्यस प्रकारका दुष्परिणामहरू करिब १०० वर्षको लामो सङ्घर्ष र वलिदानद्वारा प्राप्त गरेका लोकतन्त्र, गणतन्त्र वा धर्मनिरपेक्षताको अन्त वा अधिनायकवाद पनि हुन सक्ने छ । त्यस प्रकारका दुष्परिणामहरूलाई रोक्न प्रतिगमनलाई पराजित गर्नुपर्दछ । त्यसका लागि ५ दलीय गठबन्धनबाट प्रतिनिधि सभा वा प्रदेश सभामा उम्मेदवार बनेका सबै उम्मेदवारहरू विजय हुनुपर्दछ ।
२०४६ भन्दा पहिले नेकासित हाम्रा कैयौँ गम्भीर प्रकारका मतभेदहरू थिए र हाम्रा बीचमा तीब्र सङ्घर्षहरू पनि भएका थिए । तर जब नेकाले निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्षको आव्हान ग¥यो, हाम्रो पार्टीले पनि त्यो आन्दोलनलाई समर्थन गर्ने र त्यसमा सामेल हुने निर्णय गरेको थियो । त्यो बेला हामी सरकारमा जाने कुरा थिएन । तैपनि हाम्रो पार्टीले त्यो आन्दोलनमा सामेल निर्णय गरेको थियो । यद्यपि हाम्रो पार्टीका केही साथीहरूले त्यो आन्दोलनलाई समर्थन गर्ने कार्यको कडा विरोध गरेका थिए । तर लखनउमा सम्पन्न पार्टीको भेलाले बहुमतद्वारा त्यो आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
२०६२–६३ को आन्दोलनका बेलामा पनि नेका, माओवादी वा मधेशवादीहरूसित तीब्र मतभेद थियो । तर हामीले ती सबैसित मिलेर प्रतिगमनका विरुद्धको संयुक्त आन्दोलनमा जाने निर्णय गरेका थियौँ । त्यही प्रकारको नीति हामीले अहिले पनि अपनाएका छौँ । ५ दलीय गठबन्धनका अन्य पक्षहरूसित हाम्रा गम्भीर प्रकारका मतभेदहरू छन् । त्यही पनि प्रतिगमनका विरुद्धको सङ्घर्षमा हामीले उनीहरूसित एकता गर्ने नीति अपनाएका छौँ ।
माथिका केही उदाहरणहरूबाट प्रष्ट हुन्छ, अन्य कुनै पक्षसित कति मतभेद छन् भन्ने वा उनीहरूसितको एकताबाट हामीलाई कति फाइदा हुन्छ भन्ने आधारमा होइन, देशको राजनीतिक आवश्यकता के हो ? त्यसमाथि विचार गरेर नै हामीले कुनै पक्षसित एकता वा सङ्घर्ष गर्ने नीति अपनाउँछौँ । त्यसले हाम्रो पार्टीको राजनीतिक परिपक्वता वा कसैप्रति कुनै पूर्वाग्रह नराखिकन देशको आवश्यकता अनुसार आफ्नो नीति निर्धारित गर्ने राजनीतिक कार्यशैलीलाई बताउँछ ।
अहिले ओलीको नेतृत्वमा एमालेले जुन नीति अपनाएको छ, त्यसले प्रतिगामी दिशा समातेको छ भन्ने कुरा स्पष्ट छ । २/२ पल्ट संसदको विघटन मात्र होइन, त्यस सन्दर्भमा उनले अपनाएको कार्यशैलीले पनि उनले लिएको नीतिको गम्भीरतालाई बताउँछ । दोस्रोपल्ट प्रतिनिधि सभामा अल्पमतमा परिसकेपछि पनि मध्यरातमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभालाई भङ्ग गर्न लगाएका थिए । संसदको पुनस्र्थापना भइसकेपछि उनले त्यसलाई सुचारू रूपले काम गर्न दिनुको सट्टा त्यसलाई अवरुद्ध गर्ने प्रयत्न गरेका थिए । उनको त्यस प्रकारको कार्यशैलीबाट उनीद्वारा खाली प्रतिगमनको मात्र होइन, अधिनायकवादको पनि खतरा भएको कुरा बुझ्न गाह्रो पर्दैन ।
२०१७ वा २०५९ सालमा राजाद्वारा नै देशमा प्रतिगमन आएको थियो । तर, अहिले प्रतिगमनको खतरा पहिले भन्दा कैयौँ गुणा शक्तिशाली भएको छ । अहिले राजावादीहरूले त प्रतिगामी अभियान, अर्थात नेपाललाई हिन्दुराष्ट्र बनाउन र राजतन्त्रको पुनस्र्थापनाका लागि आफ्नो अभियान चलाइरहेका छन् । अब त्यो अभियानमा एमाले पनि थपिएको छ । नेकपाभित्रको अन्तर्विरोधका कारणले आफ्नो सङ्गठन र सरकारमा समेत अल्पमतमा परेपछि ओलीले भारतका कट्टर हिन्दुवादी शासकवर्गसित साँठगाँठ गरेर अस्तित्व बचाउने प्रयत्न गरेका थिए । त्यही पृष्ठभूमिमा नै मध्यरातमा सामन्त गोयलसित भेटघाट भएको थियो । त्यसपछि ओलीले स्पष्ट रूपमा प्रतिगमनको दिशा, अर्थात् नेपाललाई हिन्दुराष्ट्र बनाउने र राजतन्त्रको पुनस्र्थापना गर्ने नीति लिएका छन् । भारतका कट्टर हिन्दुवादी शासकहरूले नेपालका राजावादी र एमाले समेतको प्रतिगामी नीतिलाई पूरा समर्थन गरेका छन् । त्यसैले अहिले प्रतिगमनको खतरा पहिले भन्दा कैयौँ गुणा बढी गम्भीर भएको छ ।
देशप्रति प्रतिगमन र अधिनायकवादको दिशामा जान्छ वा त्यसलाई रोक्न सकिन्छ ? त्यो कुराको फैसला आगामी चुनावले गर्ने छ । त्यसैले आगामी चुनावको देशको राजनीतिक इतिहासमा नै ठूलो महत्व छ । त्यो चुनावले खाली नेपालमा कुन पार्टीको सरकार बन्ने छ ? त्यो कुराको मात्र फैसला गर्ने छैन, तर त्यो भन्दा महत्वपूर्ण कुरा नेपालको राजनीतिले कुन दिशा समात्ने छ ? त्यो कुराको पनि फैसला गर्ने छ ।
यो स्पष्ट छ कि चुनावमा हाम्रो एमालेसित कडा प्रतिस्पर्धा हुने छ । प्रतिनिधि सभा वा प्रदेश सभाका १/१ सिटका उम्मेदवारहरूको जीत वा हारले प्रतिनिधि सभा वा प्रदेश सभाहरूमा कुन पक्षले बहुमत प्राप्त गर्ने छ ? त्यो कुराको फैसला हुनेछ । बेग्लाबेग्लै निर्वाचन क्षेत्रमा कुन व्यक्ति उम्मेदवार भएको छ, त्यो निर्णयात्मक महत्वको कुरा होइन ।
निर्णयात्मक महत्वको कुरा यो हो : त्यो उम्मेदवारको जीत वा हारले प्रतिगमनमाथिको विजयलाई सुनिश्चित गर्ने छ वा प्रतिगमनलाई मदत पु¥याउने छ ? त्यसकारण १/१ उम्मेदवारको जीत हारले संसदमा वा प्रदेश सभाहरूमा बहुमत वा अल्पमतको फैसला गर्न सक्ने छ । त्यसरी विचार गर्दा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका १/१ जना व्यक्तिहरूको निर्णयात्मक महत्व छ । त्यसैले गठबन्धनका तर्फबाट खडा भएका कुनै १ जना उम्मेदवारको पनि हार भयो भने त्यसबाट केन्द्र वा प्रदेशका सरकारहरूमा गठबन्धन अल्पमतमा पर्न सक्दछ । त्यो वास्तविकतामाथि ध्यान दिँदै हामीले गठबन्धनका तर्फबाट खडा भएका कुनै पनि उम्मेदवारको हार नहोस्, त्यसका लागि उच्च प्रकारको सतर्कता अपनाउनुपर्ने आवश्यकता छ ।
ओलीले उनी राष्ट्रियताको पक्षमा भएको निकै प्रचार गरिरहेका छन् । तर वास्तविकता यो हो कि राष्ट्रियताका लागि सबै भन्दा बढी खतरा एमालेबाट नै छ । उनीहरूले चुच्चे नक्साको कुरा उठाएर ओलीका कारणले नै संसदबाट त्यो नक्सा पारित भएको बताउँछन् । तर उनको नेतृत्वकालमा त्यो नक्सा पारित भएको भएपनि उनी वास्तवमा त्यो नक्साको विपक्षमा नै भएको कुरा तथ्यबाट थाहा हुन्छ । शिक्षा मन्त्रालयले चुच्चे नक्सा पाठ्यक्रममा राख्नका लागि पाठ्यपुस्तक समेत छापेको थियो । तर ओलीले त्यसको प्रकाशनमा रोक लगाएका थिए । नेपालको राष्ट्रियताका लागि सबै भन्दा बढी खतरा भारतीय साम्राज्यवादसित नै छ । तर ओलीले त्यही साम्राज्यवादसित साँठगाँठ गरिरहेका छन् । गोयलसितको उनको भेट त्यो कुराको प्रमाण हो ।
एमसीसी र नागरिकता विधेयक समेतको प्रश्नमा गठबन्धन सरकारसित हाम्रो मतभेद छ । ती विषयमा संसदभित्र वा बाहिर हामीले गरेको विरोधबाट त्यो कुरामा कुनै शङ्का रहन्न । तर, उक्त प्रश्नहरूमा एमालेको दृष्टिकोण गठबन्धन सरकारको भन्दा सही रहेको छ भन्ने होइन । आफू सरकारमा भएको बेलामा ओलीको सरकारले ती दुबै विषयहरूमा अपनाएका नीतिहरूबाट त्यो कुरामा कुनै शङ्का रहन्न । त्यसरी समग्र रूपमा के भन्न सकिन्छ भने खाली प्रतिगमन र अधिनायकवादको खतराका दृष्टिकोणले मात्र होइन, राष्ट्रियताका दृष्टिकोणले पनि ओलीको नीति वा भूमिका देशका लागि झन् बढी घातक छ । त्यसैले ओलीका नेतृत्वको प्रतिगमनलाई पराजित गर्नु अहिले राष्ट्रिय आवश्यकता बन्न गएको छ । अर्का शब्दमा आगामी चुनावमा एमालेलाई पराजित गर्नु अहिलेको निर्णयात्मक महत्वको कार्य हो र त्यो कार्य ५ दलीय गठबन्धनद्वारा नै हुन सक्दछ र हुनु पनि पर्दछ ।

