सन्धिखर्क । अर्घाखाँचीका नेवार समुदायको पहिचानका रूपमा नाचिने भैरवनाच यस वर्षलाई सकिएको छ । भैरव नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाचका रूपमा रहेको छ ।
भैरवनाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कार्तिक औँसीसम्म नाचिन्छ । देउसीभैलीको मादल बज्नुअगाडि यस नाचलाई विसर्जन गर्नुपर्छ भन्ने स्थानीय मान्यता छ ।
भैरवनाच सात ताल (पटक) सम्म नाचिन्छ । सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ । बिचमा छोटो विश्रामपछि पुनः सुरु हुन्छ । यसमा कालभैरव मुख्य हुन्छ । श्वेतभैरव र रक्तभैरव सहायक हुन् । साथमा डङ्किनी पनि हुने सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
भैरवको स्वरूपमा हुने यस नाचका नर्तकलाई भगवानको प्रतीकका रूपमा पूजा गरिन्छ । यद्यपि डङ्किनीलाई पनि पूजा गरिन्छ । डङ्किनी नारी स्वरूपको हुन्छ । पुरुष नर्तक महिलाको भेषमा शृङ्गार गरेको हुन्छ । यसको स्पष्ट स्वरूप नखुले पनि भैरवनाचको अभिन्न अङ्गका रूपमा रहँदै आएको छ ।
तीनओटै भैरव आफ्नो भूमिकाअनुसारका रङमा ख्वापः (खप्पर), कपडा, चमर (चौरी गाईको पुच्छर), मालासहित शृङ्गार गरी भगवान्को विशाल आकृति निर्माण गरिने लात्तेबाज भैरवनाच संरक्षण समिति तथा भुमिकास्थान नगरपालिका ८ का वडाअध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।
भैरवलाई आकर्षक बनाउन समयसापेक्ष शृङ्गार सामग्रीको प्रयोग गरिन्छ । यसपछि तान्त्रिक विधिबाट पूजा गरी नाच सुरु गरिन्छ । बाजा बजाउनेहरू मुख्य रूपमा नेवार समुदायकै भए पनि सहायक बाद्यवादकमा अन्य जातजातिका पनि सहभागी हुन्छन् । यसले जातीय सद्भावलाई झल्काउँछ । यसमा मुख्य गरी खीं बाजा (मिर्दुङ) लाई गुरुमादलका रूपमा राखिन्छ भने साथमा झुर्मा (झ्याली), सहनाइ, धङ्गुरीलगायतका वाद्यवादन प्रयोग गरिन्छ ।
सातओटै ताल (पटक) को लय फरक फरक हुन्छ । तान्त्रिक विद्यामा निपुणहरूलाई विशेषगरी पाँच ताल र छ तालमा भैरव उत्रिन्छ । यसरी काम्नेमा दर्शक पनि हुन सक्छन् र नर्तक पनि । भैरवनाचको तान्त्रिक पूजा विधिमा गल्ती भए यसले क्षति पनि पु¥याउँछ भन्ने जनविश्वास भएकाले यो नाचप्रति धेरै सचेत हुने गर्दछन् ।
नाचलाई रोचक बनाउन लाठीनाच (टाकुनडोली), घोडानाच, चरानाच, लाहुरेलाहुरेनी नाचलगायतका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने उद्योग वाणिज्य सङ्घ अर्घाखाँचीका कोषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठले बताउनुभयो ।
नेवार समुदायका विभिन्न प्रचलित एवम् ऐतिहासिक नाचमध्येको एक भैरव (भैरम) नाच यस समुदायभित्र मात्रै होइन, अन्य समुदायका बिचमा पनि लोकप्रिय छ । भैरवनाच पश्चिम नेपालका अर्घाखाँची, पाल्पा, बागलुङ, दैलेखलगायतका क्षेत्रमा नाचिन्छ । यसको शैली भिन्नाभिन्नै छ ।
अर्घाखाँचीको भैरवनाच गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देहीलगायतका क्षेत्रमा पनि लोकप्रिय छ । (रासस)

