काठमाडौं । बेलायतको नयाँ प्रधानमन्त्री भारतीय मूलका ऋषि सुनक हुने भएका छन् । डेढ महिनाअघि लिज ट्रससँग पराजित भएका सुनक यसपालि विजयी भएका छन्।
यूकेले ठूला आर्थिक चुनौतीहरूको सामना गरिरहेको समयमा सुनकले कार्यभार सम्हाल्ने भएका छन्। उनी पहिलो ब्रिटिश एशियाली प्रधानमन्त्री बन्ने निश्चित भएको बीबीसीले जनाएको छ । सुनकका बाबु आमा दुवै पूर्वी अफ्रिकाबाट यूके आएका हुन् र दुवै भारतीय मूलका हुन्।
फेब्रुअरी २०२० मा सुनक यूकेको चान्सलर अफ एक्सचेकर (अर्थमन्त्री) बनेका थिए ।
जनरल फिजिसिअन बुवा र औषधि पसल सञ्चालन गर्ने आमाका सन्तानका रूपमा उनी सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका हुन्।
उनले एउटा विशेष निजी विद्यालय विन्चेस्टर कलेजमा पढे र गर्मी बिदाका बेला साउथह्याम्पटनका रेष्टुराँमा वेटरका रूपमा काम गरे। उनले अक्सफर्ड विश्वविद्यालयमा दर्शन, राजनीति र अर्थशास्त्र पढे।
स्ट्यान्डफर्ड यूनिभर्सिटीमा एमबीए पढ्दा उनले भावी श्रीमती अक्षता मूर्तिलाई भेटे जो भारतीय अर्बपति, विशाल प्रविधि कम्पनी इन्फोशिसका सह(संस्थापक नारायण मूर्तिकी छोरी हुन्। यी दम्पतीका दुई छोरीहरू छन्।
सन् २००१ देखि २००४ सम्म सुनकले गोल्डम्यान स्याक्स ब्याङ्कमा विश्लेषकका रूपमा काम गरे।
पछि उनी दुईवटा आर्थिक लगानी सम्बन्धी विशेष कोष हेज फन्डमा साझेदार बने। उनी ब्रिटेनका निकै धनी सांसदमध्ये एक भएको ठानिन्छ।