काठमाडौं । झापामा रहेको एक मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको सञ्चालकले आरोप लगाएका छन् ।प्रधानमन्त्री एवं तत्कालिन नेकपा(एमाले) का अध्यक्ष केपी ओली र तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले बुधबार पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् ।
उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले ‘माथि नेताहरुलाई पनि मिलाउनुपर्छ’ भन्दै २० करोड रुपैयाँ घुस मागेको बताए । यही पुस १५ गते होटल द्वारिकाजमा भेटर उपाध्यक्ष गिरीले सो रकम माग गरेको उनको भनाइ छ।बी एण्ड सीलाई सम्बन्धन दिन रकम माग गरेको उनको दाबी छ। प्रसाईंले यति ठुलो रकम दिन नसक्ने बताएपछि उपाध्यक्ष गिरीले आफ्ना सम्धिका नाममा १० प्रतिशत सेयर हाल्दिन भनेको बुधबार पत्रकार सम्मेलन गरी बताए।
उनले घुस रकम मागिएको विषयमा नेकपाका नेताहरुलाई समेत जानकारी गराएको बताएका छन्। प्रसाईंले बी एण्ड सीलाई सम्बन्धन दिनुपर्ने, नभए कलेजको सम्पत्ति राज्यले नै किन्नुपर्ने माग पनि गरे।
विकृत मानसिकताको उपजः गिरी
यता, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले वि एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशकसँग आफूले घुस मागेको आरोपको पुस्ट्याई गर्न चुनौति दिएका छन् ।उपाध्यक्ष गिरीले बुधबार नै काठमाडौंमा पत्रकार सम्मेलन गरी घुस मागेको आरोप पुष्टि गर्न चुनौति दिएका हुन् ।
उनले विकृत मनस्थिति भएका व्यक्तिले आरोप लगाएको भन्दै त्यसमा सत्यता नभएको दावी गरे । उनले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै कानूनी उपचारमा जाने बताएका छन् ।
उनले आफूमाथि लगाएको आरोप समाचार माध्यममा आउँदा आश्चार्यमा परेको बताउँदै कपोलकल्पित आरोप लगाइएको बताए । आयोगका उपाध्यक्ष गिरीले आफू १५ मंसिरमा द्धारिकाज होटलमा नगएको र प्रसाइसँग भेट नभएको बताउँदै आरोप पुष्टि गर्न चेतावनी समेत दिएका हुन् ।