काठमाडौं । यातायात रोकेर पहिरो रोकथामको काम चलिरहेको मुग्लिन–नारायणगढ सडकखण्ड आज (बुधबार) र भोलि (बिहीबार) दिउँसो बन्द गरिने भएको छ। पहिरो रोकथाम गर्ने काम नसकिएकाले थप दुई दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिने भएको हो।
Advertisement
सडक आयोजनाका अनुसार सडकमा ढुंगा झार्ने र पहिरो रोकथामका अन्य काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द गर्न लागिएको हो। उक्त सडक मंसिर २७ गतेदेखि यसरी नै दिउँसो बन्द गर्ने क्रम जारी छ।
मुग्लिनबाट नारायणगढतर्फ जाने यात्रुबाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक गाडी लेवाटार र आँबुखैरहनीमा रोकिने आयोजनाले जनाएको छ।
यस्तै नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङ्गामा रोकिनेछन्। तर अत्यावश्यक सवारीसाधनलाई प्रवेश दिइने आयोजनाले जनाएको छ।