टुक बाहादुर रामदाम, (मस्कट) ओमान ।
ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले ओमान अधिराज्यका सुल्तान हाइथम बिन तारिक समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
१८ अक्टोबर २०२२ तदअनुसार २०७९ कात्तिक १ गते ओमानको बर्का राजदरबारमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच राजदूत अर्यालले ओहोदाको प्रमाणपत्र बुझाउनभएको हो । कार्यक्रममा राजदूत अर्याललाई सलामी दिइनुको साथै नेपालको राष्ट्रिय गान बजाइएको थियो ।
ओहोदाको प्रमाणपत्र बुझाए पश्चात् सुल्तान हाइथम बिन तारिक र राजदूत अर्यालबीच भएको छोटो वार्तालापमा राजदूत अर्यालले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट सुल्तानको व्यक्तिगत सुस्वास्थ्य तथा खुसीका साथै समग्र ओमानी जनताको सुख शान्ति, प्रगति एवम् समृद्धिको शुभ कामना सन्देश व्यक्त गर्नु भएको थियो ।
राजदूत अर्यालले नेपाल र ओमानबीचको द्विपक्षीय सम्बन्धबारे उल्लेख गर्दै आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो र अझ प्रगाढ बनाउने तर्फ आफू लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । सो अवसरमा उहाँले नेपालको रणनैतिक अवस्थितिको महत्त्वबारे चर्चा गर्दै त्यसले नेपालमा व्यापार, पर्यटन तथा लगानीका लागि प्रचुर सम्भावनालाई थप बढाएको बताउनु भयो ।
सुल्तान हाइथम बिन तारिकले राजदूत अर्याललाई नेपालको राजदूतको रूपमा ओमानमा स्वागत गर्दै उहाँको सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो।
सो अवसरमा ओमानका परराष्ट्रमन्त्री, राजदरबार मामिला सम्बन्धी मन्त्री, राजदरबार सुरक्षा प्रमुख, राजदरबारका शिष्टाचार महापाल तथा राजदूतकी श्रीमती स्वदेश अर्याल र नेपाली राजदूतावासका कर्मचारीहरूको उपस्थिती थियो ।