काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने निर्वाचन केन्द्रित गलत सूचना प्रवाहलाई सामाजिक सञ्जाल मेटामार्फत अनुगमन र नियमन गर्ने भएको छ ।
मंगलवार काठमाडौंमा आयोजित ‘मेटा इन्टीग्रिटी समिट’लाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन केन्द्रित भएर सामाजिक सञ्जालमा हुने प्रचारप्रसार तथा खर्चलाई मेटामार्फत अनुगमन गरिने जानकारी दिनुभएको हो ।
उहाँले आयोगले सामाजिक सञ्जालबाट हुने असामाजिक, अमर्यादित चरित्र, चिन्तन र क्रियाकलापलाई उपयोगी, आवश्यक र मर्यादित बनाउनका लागि मेटासँग सहकार्य गरिएको स्पष्ट पार्नुभयो । उहाँले सामाजिक सञ्जालमार्फत निर्वाचनको स्वच्छतालाई प्रभाव पार्न नदिइने उल्लेख गर्नुभयो । सामाजिक सञ्जालमा निर्वाचन केन्द्रित मिथ्या तथा भ्रमपूर्ण सामग्री प्रशारण हुन नदिनका लागि मेटासँगको सहकार्य गरिएको उल्लेख गर्दै यसलाई आयोगले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोज्यो भन्ने ढंगले नबुझ्न पनि स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो – ‘सामाजिक सञ्जालको नियन्त्रण गर्न आयोगले चाहेको होइन । मेटासँगको यो इन्टीग्रिटी समिटबाट पनि तपाईहरुमा भ्रम नपरोस्, काँही कतै सामाजिक सञ्जालको नियन्त्रण पो हुँदैछ कि । कहीँ कतै नियन्त्रण हुँदैछैन । मात्रै यसलाई व्यवस्थित गर्ने, नियमन गर्ने कुरा हामी भन्दैछौँ । यसलाई एउटै भाषामा भन्ने हो भने नेपालको सन्दर्भमा सामाजिक सञ्जालबाट हुने असामाजिक र अमर्यादित चरित्र, चिन्तन र क्रियाकलापलाई हामीले उपयोगी, आवश्यक र मर्यादित बनाउनको निम्ति यो प्रक्रिया प्रारम्भ गरेका हौँ । जसले निर्वाचनको स्वच्छतालाई सामाजिक सञ्जालको प्रयोगबाट बिटुलिन नदिने एउटा वातावरण तयार गर्दछ भन्ने आयोगको विश्वास छ ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरुले निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जालमा गर्ने खर्चको पनि आयोगले निगरानी तथा अनुगमन गर्ने र सीमा उल्लंघन भएको पाए कारवाही गर्ने स्पष्ट पार्नुभयो । उहाँले उम्मेदवारहरुले निर्वाचन खर्च विवरण नबुझाउने र बुझाएपनि एकातर्फ भएको खर्च अर्कोतर्फ देखाउने गरेको प्रसंग उल्लेख गर्दै आयोगले त्यस्ता कामलाई नियन्त्रण गर्ने बताउनु भयो ।
निर्वाचनमा लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कुराहरु सँगसँगै आउन नहुने भन्दै उहाँले स्वच्छ, स्वतन्त्र, भयरहीत र विश्वसनीय रुपमा सम्पन्न गराउने काममा आयोगले सबैको सहयोगको अपेक्षा राखेको बताउनु भयो ।
निर्वाचन पैसाले नभई निष्ठाले जित्नुपर्छ भन्ने मान्यता निर्वाचन आयोगको रहेको भन्दै उहाँले निर्वाचनको निष्ठालाई प्रवद्र्धन गर्न आयोग सधैँ लागिरहने पनि स्पष्ट पार्नुभयो ।