बागलुङ । रक्तिम सांस्कृतिक अभियान बागलुङको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार गलकोटमा सम्पन्न भेलाले सविन अर्गेजाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा टिकासंगम विक, सचिव मानबहादुर राना, सहसचिव कूलबहादुर छन्त्याल र कोषाध्यक्षमा रुममाया पाइजा चयन हुनुभएको छ । सदस्यहरुमा मोहन रासकोटी, तुफान पुन, भक्तिराम पुन, दिलेन्द्र बुढामगर, सहराज छन्त्याल, गणेश विक, विमल पाण्डे रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।
भेलाले दानबहादुर थापाm थुमराज ढुंगाना र सावित्रा दर्जीलाई सल्लाहकार चयन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै रक्तिमका उपाध्यक्ष हेमराज आश्रमले प्रगतिशील साहित्य र संस्कृतिको महत्वबारे स्पष्ट पार्नुभएको थियो । उहाँले सन् १८७१ मा रचना भएको अन्तर्राष्ट्रि गीतसँगै प्रगतिशील साहित्य रचना सुरु भएको उल्लेख गर्दै नेपालमा वि.स. २००९ सालमा प्रगतिशील लेखक संघको स्थापना पछि मात्रै प्रगतिशील साहित्य र संस्कृतिको संस्थागत विकास सुरु भएको बताउनुभयो ।
‘विश्व प्रगतिशील साहित्य संगीतको पहिलो दस्तावेज वामपन्थीहरूको अन्तर्राष्टिय गान ‘उठ जाग हो…’ हो । जहाँ अन्तर्राष्टिय मानवजातीको सपना देखिएको छ । विश्व सर्वहारा सांस्कृतिककर्मीहरूका लागि सो गान नै ऊर्जा र आदर्शको प्रेरक हो’ आश्रमले भन्नुभयो ।
तर, अहिले पनि प्रगतिशील साहित्यको विकास र बिस्तार हुन नसकेको भन्दै प्रगतिशील साहित्यको ब्यापक प्रचार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

‘पूँजीवादी संस्कृतिले जनताको मन मस्तिष्कमा मन्द विष भरिरहेको छ’ आश्रमले भन्नुभयो, ‘समाजको समग्र विकास, जनताको चेतना र क्रान्तिका लागि प्रगतिशील गीत संगीतलाई ब्यापक प्रचार गर्नुपर्छ ।’
कार्यक्रममा राष्ट्रि जनमोर्चाका केन्द्रीय सदस्य गौरिश्वर पाण्डे, राजमो गण्डकी प्रदेश सचिव वेदीलाल सापकोटा, नेकपा (मसाल) का जिल्ला प्रवक्ता मेखबहादुर पाइजा, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष मनोज कुमार सुनार, अखिल (छैठौं) का जिल्ला अध्यक्ष गणेश सापकोटाअखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष नेत्र बुढाथोकी र जातीय समता समाजका जिल्ला अध्यक्ष नरबहादुर विकले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

यस्तै, गलकोट नगरपालिका–१ का वडाअध्यक्ष लालबहादुर राना, कार्यपालिका सदस्य खडक विक, बडिगाड गाउँपालिका कार्यपालिका सदस्य रुममाया विक र ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य तिलबहादुर छन्त्यालको पनि आतिथ्यता रहेको थियो ।
भेलाले आगामी फागुन २६ र २७ गते गलकोटको दुदिलाभाटीमा रक्तिमको छैटौं जिल्ला सम्मेलन गर्ने निर्णय गरेको केन्द्रीय उपाध्यक्ष हेमराज आश्रमले जानकारी दिनुभयो ।