वासिङटन । अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा नेपालीभाषी समुदायको भलिबल महोत्सव सुरु भएको छ ।
अमेरिकाका नौओटा राज्यबाट पुरुष र महिला खेलाडीका टिम सो महोत्सवमा भाग लिन कोलम्बस पुगेका छन् । अक्टोबर १५ तारिख शनिबारदेखि दुई दिनसम्म जारी रहने भलिबल महोत्सव अमेरिकामा नेपालीभाषीमाझको सबैभन्दा ठुलो भलिबल प्रतिस्पर्धा हो ।
परोपकारी संस्था इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनको आयोजनामा आकर्षक पुरस्कार राशिसहितको सो महोत्सवमा पुरुष र महिला गरेर २९ टिमले प्रतिस्पर्धा गरिरहेको खेल आयोजक समितिका संयोजक दिपेश प्रधानले बताउनुभयो । प्रतिस्पर्धामा न्यूयोर्क, मेरिल्यान्ड, मिनिसोटा, ओहायो, टेक्सास, केन्टकी, नर्थ क्यारोलिना, भर्जिनिया र पेन्सिलभेनिया राज्यबाट नेपालीभाषी युवायुवतीका टिमले सहभागिता जनाएको प्रधानले जानकारी दिनुभयो ।
उहाँका अनुसार विजयी पुरुष टिमलाई आठ हजार पाँच सय अमेरिकी डलर र उपविजेतालाई छ हजार पाँच सय अमेरिकी डलर पुरस्कार राखिएको छ । त्यसैगरी, विजेता महिला टिमलाई तीन हजार पाँच सय, उपविजेतलाई दुई हजार पाँच सय र तेस्रो हुनेलाई एक हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।
अमेरिकी पूर्वीय समयानुसार शनिबार बिहान ९ बजे (नेपाली समय साँझ) उद्घाटन हुने सो खेलमा पुरुषतर्फ २१ टिम प्रतिस्पर्धा गर्दै छन् भने महिलातर्फ आठओटा टिमको प्रतिस्पर्धा छ । प्रतिस्पर्धामा न्युयोर्कबाट रिजउड नेपाली समाज, म्याग्दी समाज र टिम बफेलो सहभागी छन् ।
मिनिसोटा राज्यबाट युनाइटेड मिनीसोटा, बिवाइएससी मिनीसोटा, बिवाइएससी गल्र्स भलिबल टिम, भर्जिनिया राज्यबाट रोनोक युनाइटेड र रोज टिम, मेरिल्याण्डबाट बेलमण्ट टिम, गुर्खाज टिम र बागलुङ टिम सहभागी भएका छन् ।
त्यसैगरी ओहायो राज्यबाट कोलम्बस यल्लो, सिनसिनाटी भलिबल क्लब, कोलम्बस ब्लू, कोलम्बस स्टार भिसी, सर्भाइभर्स, कोलम्बस फ्रेन्डसीप र फिप्टी स्टार युवा क्लबले सहभागिता जनाएका छन् भने टेक्सास राज्यबाट सुदूर पश्चिम नेपाली समाजका ए र बी टिम, केन्टकी राज्यबाट लेक्सिन्टन एएनकेए र केन्टकी एएनकेए वान साथै योङ स्टार लेडिज टिम प्रतिस्पर्धामा छन् ।
त्यस्तै नर्थ क्यारोलिना राज्यबाट इभिसिएनसी टिम र पेन्सिलभेनिया राज्यबाट योङ ब्लड टिम, राइजिङ स्टार टिम र युनाइटेड गल्र्स टिम प्रतिस्पर्धामा छन् ।
फाउन्डेसनका प्रवक्ता केशव आचार्यले अमेरिकामा नेपालीभाषी समुदायमा खेलकुदका माध्यमबाट आपसी सौहार्दता वृद्धि गर्दै युवायुवतीलाई सत्मार्गमा लगाउन विभिन्न खेलका प्रतिस्पर्धा आयोजना गरिँदै आएको बताउनुभयो । उहाँले दुई हप्ता अघिमात्र अमेरिकाभरका ३८ टिमको सहभागितामा फुटबल प्रतियोगिता सम्पन्न गरिएको जानकारी दिनुभयो । (मधुकुमार अधिकारी, रासस)