काठमाडौं । मधेश सरकारले केन्द्रमा जनता समाजवादी पार्टी (जसपा) का मन्त्री हटाएको बदला प्रदेश सरकारमा लिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चारैजना मन्त्रीलाई बर्खास्त गरेपछि मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले पनि प्रदेशबाट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्री हटाउने तयारी गरेका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि नेकपा एमालेसँग तालमेल सहमति गरेसँगै प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरु बर्खास्त गरेका हुन् ।
प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गरेका हुन्। जसपाबाट उनीहरु गत असार २० गते मन्त्री भएका थिए ।
प्रधानमन्त्री देउवाले संघीय सरकारबाट जसपाका मन्त्रीहरुलाई हटाएपछि मधेश प्रदेश सरकारले पनि सत्ता गठबन्धनका मन्त्रीहरुलाई हटाउने भएको हो।
मुख्यमन्त्री लालबाबु राउतले हटाउने तयारी गरेपछि गठबन्धनका मन्त्रीहरुले सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन्।
राउतले मन्त्रीहरुलाई फोन गरेर मन्त्रीले आफैँ राजीनामा नदिए पदबाट बर्खास्त गर्ने बताएका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले जानकारी दिए।