काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा सुरु भएको छ ।
पूर्व वडाअध्यक्ष रमेश डङ्गोलका अनुसार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको छ ।
तीननारायण एवम् “कहिँ नभएको जात्रा हाँडीगाउँमा” समेत भनिने यो जात्रा नगर्दा यस क्षेत्रमा प्राचीनकालदेखि चलिआएको संस्कृति नाश हुने भएकाले गत वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको उहाँले सुनाउनुभयो ।
गत वर्षभन्दा कोरोना महामारी कम रहेकाले सहज रूपमा जात्रा गर्न लागिएको हो । देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहिँ नभएको जात्रा भन्ने गरिएको हो ।
चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवम् तीननारायणका नाममा गुठी जग्गा राखिएको छ ।
मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो । चोक्काथुनारायणको मन्दिर बुढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको “हाँडीगाउँ : एक परिक्रमा” पुस्तकका लेखक एवम् यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहनुभएका यज्ञनाथ आचार्यले बताउनुभयो ।
जात्रा सुरु भएका सम्बन्धमा एउटा किंवदन्ती प्रचलित छ । जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदीबहिनी थिए । दिदी भगवान्प्रति पूर्ण रूपमा आस्था राख्थिन् । बहिनी घमण्डी हुनुका साथ भगवान्प्रति पनि उनको आस्था थिएन । विवाहपछि दुवै दिदीबहिनी गर्भवती भए । दिदीले समयमै बच्चा जन्माइन् । बहिनीको गर्भ रहेको बाह्र वर्षसम्म पनि बच्चा जन्मिएन । बहिनीले आफ्नो पतिसहित नारायणको आराधना गरिन् ।
सपनामा बुढानीलकण्ठ नजिकको पहाडमा रहेको नारायणको मूर्ति ल्याई उल्टो छाताकारका तीन खटको जात्रा चलाउनू, तब तिमीहरूको उद्धार हुने छ भन्ने आज्ञा प्राप्त भयो । गर्भ रहेको बाह्र वर्षसम्म बच्चा नजन्मिएको दम्पत्तिले त्यस बेलाका राजा नरेन्द्र मल्लसँग गुहार मागे । राजआज्ञाबमोजिम तान्त्रिकहरू धिमेबाजा बजाई रङ्गीबिरङ्गी लुगा लगाएर बुढानीलकण्ठ नजिकको पहाडमा गए ।
मैनको फूल चढाई नारायणको आराधना गरे । चोक्काथुनारायण (तीननारायण) जात्राको परम्परा चलाउने वचन दिए । नारायणलाई हाँडीगाउँ ल्याई यहाँका जनतालाई पर्ने दु:ख तथा पीडालाई अन्त गर्न भनी चोक्काथुनारायण (तीननारायण) मन्दिर स्थापना गरे । यसै बेलादेखि जात्राको पनि सुरुआत भयो ।
मन्दिर स्थापना भएपछि प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने गरेको स्थानीयवासीको अनुभव छ । नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने धारणा अहिले पनि रहेको सांस्कृतिक अन्वेषक आचार्यले सुनाउनुभयो ।
नारायणको जात्रा कमलासनको तीन खट (बाबु, आमा, छोरा) बनाई खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाई गजुर घुसारेको स्थानमा पूजा गरिन्छ । यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ । जात्रा हेर्न हाँडीगाउँ क्षेत्रका सबै गुठियार जम्मा हुनुपर्ने नियम रहेको छ । (रासस)

