बागलुङ बजार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रतिगमन विरोधी गठबन्धनको तर्फबाट बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधि सभाको साझा उम्मेदवार हुनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालय बागलुङ बजारमा पुगेर आज २०७९ असोज २३ गते अध्यक्ष केसीले साझा उम्मेदवारको रूपमा मनोनयन दर्ता गराउनुभएको हो ।
त्यस्तै, गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र) का देवेन्द्र पौडेलले उम्मेदवारी दिनुभएको छ भने प्रदेशसभाको १ (क) बाट नेपाली काङ्ग्रेसका दीपेन्द्र थापा, १ (ख) बाट नेकाका डिल्लीप्रसाद सुवेदी, २ (क) बाट नेकाका जीत शेरचन र २ (ख) बाट नेकाकै द्रोणकुमार कुँवरले मनोनयन दर्ता गर्नुभएको छ ।
मनोनयन दर्ता गर्नका लागि गठबन्धनका शीर्ष नेताहरूको सहभागिता रहेको थियो । सो क्रममा राष्ट्रिय जनमोर्चाबाट अमर थापा, कृष्ण अधिकारी, धर्म कुँवर, राजेन्द्र ढुङ्गाना, लक्ष्मी बास्कोटा, डिलबहादुर दर्जी, तिलक थापालगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
मनोनयन दर्ताको सन्दर्भमा जुलुस प्रदर्शन गरिएको थियो ।
