काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले अब टेलिभिजनमा पनि अन्तर्वार्ता दिनुहुने भएको छ । नेकपा (मसाल) को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले महामन्त्री सिंहलाई टिभी वा विभिन्न दृश्य समाचारहरूमा जानसक्ने निर्णय गरेको छ ।
नेकपा (मसाल) को संगठनात्मक संरचना भूमिगत छ भने महामन्त्री अर्धभूमिगत रहने प्रणाली छ । पछिल्लो समय उहाँका तस्विरहरु सार्वजनिक हुने गरेका थिए ।
महामन्त्री सिंह आजसम्म कुनै सार्वजनिक मञ्च वा टेलिभिजनमा जानुभएको छैन । उहाँको अन्तर्वार्ता लिन वा विचार बुझ्न विभिन्न सञ्चारमाध्यमले बारम्बार प्रयास गरेपनि श्रव्यदृश्य समाचारमा नजाने पार्टीको नीतिका कारण त्यो सम्भव भएको थिएन । तर केन्द्रीय समितिको निर्णयसँगै उहाँलाई टिभी कार्यक्रममा जान बाटो खुलेको छ ।
बर्तमान राजनीतिका शिखर पुरुष महामन्त्री सिंहको विश्लेषण नेपाली राजनीतिमा लगातार मेल खाने गरेको छ ।