भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गर्नु भएको छ । उहाँले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक रु बाह्र लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो ।
सुक्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यावसायिक खेती गरिरहेका छन् । दश वर्षअघिबाट व्यावसायिक खेती थाल्नुभएका उहाँले एक हजार पाँच सय पिलरमा ड्रागन लगाउनुभएको छ ।
अहिले तीन सय ओटा पिलरमा लगाएको ड्रागनले उत्पादन दिन थालेको छ । आठ सण् ५० केजी बिक्री गरिसकेको र एक हजार केजीको हाराहारीमा टिप्न बाँकी रहेको नेपालले जानकारी दिनुभयो । त्यस्तै नेपालले १८ रोपनी क्षेत्रमा कागतीको व्यावसायिक खेती गरिरहनुभएको छ । फलफूल खेतीबाट वार्षिक रु बाह्र लाखसम्म आम्दानी हुने गरेको कृषक नेपालले बताउनुभयो ।
“फलफूल खेतीबाट राम्रै आम्दानी गरिरहेको छु”, उहाँले भन्नुभयो, “वर्षमा रु बाह्र लाखसम्म आम्दानी हुन्छ । विस्तार गरेको सबै ठाउँबाट उत्पादन हुने हो भने अझ आम्दानी बढ्छ ।” कृषक नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा करीब १७ रोपनी क्षेत्रफलमा डा«गन फल लगाउनुभएको छ । ड्रागन फल रातो प्रतिकेजी रु पाँच सय र सेतो प्रतिकेजी रु चार सयमा बिक्री हुने गरेको छ ।
त्यस्तै कागती फार्मबाट प्रति केजी रु एक सयमा बिक्री हुने गरेको छ । यहाँ उत्पादन भएको फल स्थानीय बजारसँगै काठमाडौँ जाने गरेको छ । सडकको कारण बजारसम्म पु¥याउन भने सास्ती हुने गरेको कृषक नेपालको भनाइ छ । कच्ची सडक वर्षातले हिलाम्य हुँदा उत्पादित वस्तुलाई ढुवानीमा समस्या छ ।
“मैले यहाँको उत्पादनलाई बढी मात्रामा काठमाडौँ पठाउने गरेको छु”, कृषक नेपालले भन्नुभयो”, बजार माग राम्रो छ । तर सडकको कारणबजारसम्म लैजान समस्या छ । सडक राम्रो भए अझ राम्रो आम्दानी लिन सकिन्थ्यो ।” नेपालले ‘दानाबोटे फलफूल तथा कृषि फर्म’ दर्ता गरेर व्यावसायिक फलफूल खेती थाल्नुभएको हो ।
जिल्लामा पहिलो पटक व्यावसायिकरुपमा ड्रागनको खेती थाल्नुभएका नेपाल उदाहरणीय कृषकको रुपमा परिचित हुनुहुन्छ । उहाँले २२ वर्ष विराटनगरमा बिताएर गाउँमा फर्केर व्यावसायिक खेतीमा लागेको सुनाउनुभयो । व्यवसाय गर्नको लागि विराटनगरमा रहेको घर बिक्री गरेर गाउँ आएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “२२ वर्ष विराटनगर बसेँ । गाउँ फर्केर व्यावसायिक खेतीमा लागेको छु । गाउँमा फर्केर आएर खेती गर्दा यहाँका साथीहरुले धेरै थरीका कुरा पनि गरे । अहिले म व्यवसायमा सफल बन्दै गएको छु ।” आफैँले यसको बिरुवा उत्पादन थालेको नेपालको भनाइ छ । ड्रागन फल लागेको ४५ दिनमा खान मिल्ने उहाँको भनाइ छ ।
पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममा भण्डारण गर्न सकिने हुनाले चाँडो बिग्रने समस्या हुँदैन । प्रशस्त मात्रामा भिटामिन र मिनरल हुने ड्रागन फलमा क्यान्सर प्रतिरोधी गुण हुने विज्ञ बताउँछन् ।
प्राविधिकका अनुसार रोपेको दुई वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । ड्रागनको एउटै बोटबाट धेरै वर्षसम्म फल लिन सकिने नेपालको भनाइ छ ।(रासस)