मोहनविक्रम सिंह
१) दसैँ पूर्वसन्ध्यामा पूर्वराजाले दिएको सन्देश तथा कतिपय राजावादी नेताहरुको अभिव्यक्तिबाट देशमा प्रतिगमनको गम्भीर खतरा भएको कुरामा कुनै संका रहन्न । पूर्वराजाले देशमा बहुदलीय व्यवस्था वा गणतन्त्रको स्थापना भएदेखि देशको स्थिति अत्यन्त खराब भएको कुरा बताएका छन् । र त्यसमा परिवर्तन हुनुपर्ने आवश्यकतामा जोड दिएका छन् । त्यस सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कतिपय नेताहरुले यो कुरामा जोड दिएका छनकि अहिलेको स्थितिको समाधान भनेको राजतन्त्रको पुर्नस्थापना नै हो । राप्रपा र एमालेका बीचमा भैरहेको गठबन्धनले यो कुरामा कुनै शंका रहन दिन्नकि एमालेले पनि त्यही प्रतिगामी दिशा समातेको छ ।
२) पूर्वराजाले बहुदलीय व्यवस्था वा गणतन्त्रको स्थापना देखिको करिब १५ वर्षको कालमा देश असफलतातिर गएको कुराको चर्चा गर्ने बेलामा ३० बर्षे निरंकुश राजतन्त्र र पञ्चायती शाषणकालमा देशमा व्यापक रुपमा भएका गुण्डागर्दी, भ्रष्टचार, व्यापक दमन, तस्करी, महिलाहरु माथिका बलात्कार र हत्या तथा जनता माथिको व्यापक दमनप्रति आँखा चिम्लनु पनि सहि हुनेछैन । यदि देशमा राजतन्त्र कायम हुन्छ भने देशमा पुनः त्यही प्रकारको कालो इतिहास दोहोरिनेछ । त्यसकारण देशलाई प्रतिगमनतिर जान नदिन वा राजतन्त्रको पुनर्स्थापना हुन नदिन पुरा शक्ति लगाउनु पर्ने आवश्यक्ता छ ।
३) ओलीको नेतृत्वको एमाले प्रतिगमनको पक्षमा बलियो खम्बा भएर उभिएको छ । त्यो प्रतिगमनलाई भारतको कट्टर हिन्दुवादी शाषक वर्गको पुरा समर्थन छ । उनीहरुले धर्मनिरपेक्षतालाई समाप्त गरेर नेपाललाई हिन्दुराष्ट्र बनाउन चाहान्छन भने हिन्दुराष्ट्रको संरक्षणका लागि हिन्दु राजालाई ल्याउन चाहान्छन् । त्यसो भएमा नेपाली जनताले करिब १०० बर्ष देखि संघर्ष गरेर प्राप्त गरेका राजनीतिक उपलब्धीहरु समाप्त हुनेछन् ।
४) प्रतिगनको खतरालाई रोक्नका लागि पाँच दलीय गठबन्धन वा चुनावी तालमेल बाहेक अर्को कुनै विकल्प छैन ।
५) पाँच दलीय गठबन्धनमा सामेल नेपाली काँग्रेस, माओवादी, एकिकृत समाजवादी वा जसपाका कैयौँ राजनीतिक गल्तीहरु प्रति हाम्रो ध्यान छ । त्यस सिलसिलामा संघीयता, एमसीसी र नागरिकता विधेयक सम्बन्धि उनीहरुसितका हाम्रा मतभेदहरु उल्लेखनीय छन् र त्यसको सकारात्मक पक्ष के रहेको छ भने उनीहरु सबैको प्रतिगमनका विरुद्ध संघर्षको लामो पृष्ठभूमि र इतिहास रहेको छ । उनीहरुका सबै गलत नीति र निर्णयहरुको विरोध गर्दै प्रतिगमनका विरुद्ध रहेको उनीहरुको सकारात्मक पक्षसितको एकता नै पाँच दलीय गठबन्धन वा चुनावी तालमेलको आधारविन्दु हो । त्यस प्रकारको एकता वा संयुक्त आन्दोलनद्वारा नै हामीहरु इतिहासका बेग्लाबेग्लै काल खण्डमा प्रतिगमनलाई पराजीत गर्न सफल हुँदै आएका छौँ भने अहिले पनि हामीहरु त्यसरी नै प्रतिगमनलाई पराजीत गर्न सफल हुनेछौँ भन्ने कुरामा हामीहरुलाई दृढ विश्वास छ।
६) पाँच दलीय गठबन्धन वा चुनावी तालमेलको त्यो ऐतिहासिक महत्वप्रति ध्यान नदिएर कतिपय पक्षद्वारा त्यसबारे सिद्धान्तहीन, अराजनीतिक र विभिन्न स्तरका आक्षेपहरु लगाउने काम भैरहेको छ । त्यस प्रकारका आक्षेप वा कुतर्कद्वारा जनतालाई केही बेरको लागि भ्रम दिन सकिन्छ तर अन्तमा सत्य सबैका अगाडि प्रष्ट हुनेछ ।
७) कतिपय मानिसहरुले ओलीले प्रतिगमनको बाटो समातेको कुरालाई अस्वीकार गरिरहेका छन् । त्यही प्रकारले कतिपयले त राजतन्त्रको पुर्नस्थापनालाई प्रतिगमन ठान्दैनन् र स्वयम् त्यसको विपरित राजतन्त्रको पुर्नस्थापनालाई अहिले देशका लागि सबैभन्दा सही समाधान ठान्दछन् । २०४६ वा ०६२÷०६३ मा पनि त्यसरी प्रतिगमनको पक्ष लिने मानिसहरुको संख्या कम थिएन । अहिले पनि त्यस प्रकारका मानिसहरुको संख्या कम छैन । तर उनीहरुका त्यस प्रकारका सोचाइहरुले यो वास्तविक्तालाई झुठो सावित गर्न सक्दैनन् कि आज देशमा प्रतिगमनको गम्भीर खतरा छ । र त्यसलाई खाली पाँच दलीय गठबन्धन वा चुनावी तालमेलले मात्र पराजीत गर्न सक्नेछ ।
पूर्वराजा र राप्रपाका कतिपय नेताहरुको अभिर्वतिबाट प्रतिगमनको खतरा गम्भीर भएको कुरामा कुनै संका रहन जान्न । त्यही प्रकारले २०४६ वा ०६२।०६३ मा राजासित सत्ता भएको बेलामा पनि उनीहरुको हार भएको थियो भने अहिले त स्थितिमा धेरै नै परिवर्तन भएको छ । ओली सत्तामा भएको बेलामा पनि उसका प्रतिगामी कदमहरु एक पछि अर्को गर्दै उनीहरुको पराजय भएको थियो । त्यो अवस्थामा अन्तमा जीत प्रतिगमनको होइन, अग्रगमनको नै हुनेछ भन्ने कुरा माथि हामीलाई पूरा विश्वास छ ।