त्रिशूली । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत चालक र सहचालकसँग छ बुँदे प्रतिबद्धता गराउन सुरु गरेको छ ।
चाडपर्वको समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र यात्रुवर्गलाई सहज यात्रा गराउन ट्राफिक प्रहरीले चालक तथा सहचालकलाई ट्राफिक प्रहरीको दुई मिनेट कार्यक्रममार्फत छ बुँदे प्रतिबद्धता गराउन सुरु गरेको कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार यात्रुलाई सम्मानजनक व्यवहार गर्नेदेखि चालक र सहचालक भएकामा गर्व गर्नेसम्मका विषयलाई प्रतिबद्धता जनाउन लगाइएको छ ।
प्रतिबद्धता पत्रमा म यात्रुलाई सम्मानजनक व्यवहार गर्छु, तोकिएको भाडादर भन्दाबढी भाडा लिने छैन, ट्राफिक नियमको पूर्ण पालना गर्छु, आरक्षण सिटको व्यवस्था अनुसार यात्रु व्यवस्थापन गर्नेछु, अपाङ्गता भएका व्यक्ति, असहाय र विद्यार्थीले भाडा दरमा पाउने छुटको व्यवस्था गर्ने छु तथा आफू चालक र सहचालक भएकामा आफ्नो कामप्रति गर्व गर्दछ, भनिएको छ ।
चाडपर्वको समयमा हुनसक्ने सवारी दुर्घटना रोक्नका लागि नियम पालनामा सचेत गराउन छ बुँदे प्रतिबद्धतासहित चालक र सहचालकलाई ट्राफिक प्रहरीले दुई मिनेट कार्यक्रममार्फत यात्रुदेखि सवारीसाधनको अवस्थाको जानकारी समेत सङ्कलन सुरु गरेको छ ।
यो समय (चाडपर्व)मा यात्रुलाई पर्नसक्ने समस्या र सवारीसाधनको अवस्था थाहाँ पाउन चोकपोष्ट र छड्के चेकजाँच गर्न थालेका छौँ खकुरेलले भन्नुभयो, सिट सङ्ख्याभन्दा धेरै यात्रु राख्ने, बढीभाडा असूल गर्ने, तोकिएको गन्तव्यसम्म नपु¥याउने समस्या हुन नदिन सचेत गराइरहेका छौँ, हतार गर्ने, बिग्रेका साधन गुडाउने, एकजना चालकले लामो समयसम्म चलाउने लगायतका सम्भावित दुर्घटनाका कारण रोक्न सकिनेछ भन्ने विश्वास छ ।