काठमाडौं । पाँचदलीय गठबन्धनले प्रतिनिधिसभातर्फ पाँच सिटबाहेक भागबण्डा टुंगो लगाएको छ । बुधबार राति अबेरसम्म बसेको बैठकमा १६० सिटको टुंगो लागेको छ ।
बुधबार रातिसम्म भएको सहमति अनुसार नेपाली कांग्रेसले ८५, माओवादी केन्द्रले ४४, एकीकृत समाजवादी १७, जसपा १५ र राष्ट्रिय जनमोर्चाले दुई सिट लिने निश्चित भएको छ ।
राजमोको भागमा बाग्लुङ–१ र प्युठान गरी दुई क्षेत्र परेको छ । ती क्षेत्रमा राजमोले अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेलललाई उठाउने यसअघि नै निर्णय गरिसकेको छ ।
‘दुई वा तीन दलको दाबी रहेका पाँच क्षेत्रमा मिल्न बाँकी छ । प्रदेश सभातर्फ पनि छलफल अन्तिम चरणमा पुगेको छ’ बैठकमा सहभागी एक नेताले भने, ‘नमिलेका क्षेत्रमा प्रतिनिधि सभा र प्रदेशसभातर्फ सँगसँगै छलफल अगाडि बढाइएको छ । आज कुरा टुंगिन्छ ।’
प्राप्त जानकारी अनुसार अब प्रदेश १ को खोटाङ, बागमती प्रदेशको धादिङ–१, मधेस प्रदेशको बारा ४, नवलपरासी पश्चिम, सल्यान र रुपन्देही १ कसले लिने भन्ने निर्णय हुन बाँकी छ ।
ती क्षेत्रमा दाबी गरेका दललाई प्रदेश सभातिर सिट दिएर मिलाउने गरी छलफल भइरहेको ती नेताले बताए ।
बुधबार विहानैदेखि सिट बाँडफाँट कार्यदलको बैठक बसेको थियो । विहानैदेखि बैठक बसेपनि दलहरुबीच द्वीपक्षीय र तीन पक्षीय छलफल हुँदै राति अबेर मात्रै सामुहिक छलफल भएको हो ।
अब आज (बिहीबार) पनि कार्यदलको बैठक बस्दैछ । कार्यदलले टुंगो लगाएर शीर्ष नेतालाई बुझाउने र आजै शीर्ष तहमा भागबण्डालाई अन्तिम रुपम दिने एक नेताले जानकारी दिए ।