काठमाडौं । राष्ट्रिय जनमोर्चाले आगामी फागुन महिनालाई ‘संगठन निर्माण’ को महिनाका रुपमा घोषणा गरेको छ । त्यसका लागि सबै जिल्लाहरुमा फागुन १ गते सबै जिल्लाहरुमा संगठन विस्तार अभियानको उद्घाटन हुनेछ ।मंगलबार अध्यक्ष चित्रबहादुर केसीले एक वक्तव्य प्रकाशित गरी संगठन निर्माण अभियान बारे जानकारी दिनुभएको हो । योजना अनुसार माघ १६–२२ गतेसम्म प्रदेश, जिल्ला तथा स्थानीय समितिहरुको बैठक बस्नेछ भने माघ २५–३० गतेसम्म संगठन विस्तारको जिल्लास्तरीय कार्यक्रम बनाउन जिल्ला भेला हुनेछ ।
यस्तै, राजमोले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता माथि गम्भीर खतरा उत्पन्न भएको ठहर सहित संघर्षको आवश्यकतामा जोड दिएको छ। संघीयताका दुस्परिणामहरु देखिन थालेको भन्दै त्यसको खारेजीको लागि पनि राजमोले जोड दिएको छ ।
यस्तो छ, अध्यक्ष केसीको वक्तव्य
“राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको बैठक २०७६ पौष १५ गते बुटवलमा बस्यो । यो बैठक मुख्यतः अहिले जारी भएका संघर्षका कार्यक्रमहरुको समीक्षा गर्न र राष्ट्रिय जनमोर्चाको आगामी फागुन महिनामा सञ्चालन हुने संगठनात्मक अभियानको कार्यक्रम बनाउन बसेको हो । त्यस सम्बन्धमा बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।
राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता माथि गम्भीर खतरा उत्पन्न छ । त्यसको साथै संघीयताका गम्भीर दुष्परिणामहरु सतहमा आएका छन् । यसको खारेज गर्नुपर्ने आवश्यकता भएको छ । महंगी, करवृद्धि, भ्रष्ट्राचार व्यापक रुपमा बृद्धि भएको छ । सरकारले सही प्रकारले काम गर्न सकेको छैन । यही बीचमा भारतले नेपाली भूमि आफ्नो नक्सामा पारेर नया“ नक्सा जारी ग¥यो । त्यसका विरुद्ध पनि हामीले केन्द्र, जिल्ला र स्थानीय तहमा समेत संघर्ष ग¥यौ । सुदुरपश्चिम प्रदेशमा पनि सीमा बचाउन अभियान अन्तर्गत मोटरसाइकल ¥याली भयो । उपरोक्त संघर्षका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भएको बैठकले मूल्यांकन गरेको छ ।
आगामी फागुन महिनामा राष्ट्रिय जनमोर्चाको देशव्यापी संगठन विस्तार गर्ने योजना बनेको छ । त्यस योजना अनुसार १. माघ १६–२२ गतेसम्म प्रदेश, जिल्ला तथा स्थानीय समितिहरुको बैठक बस्ने । २. माघ २५–३० गतेसम्म संगठन विस्तारको जिल्लास्तरीय कार्यक्रम बनाउन जिल्ला भेला गर्ने । ३. फागुन १ गते सबै जिल्लाहरुमा एक महिने संगठन विस्तार अभियानको उद्घाटन गर्ने र चैत्र १ गते स्थानीय तहहरुमा समापन गर्ने । ४. उक्त संगठन विस्तारको अभियानलाई परिचालन गर्न केन्द्र र प्रदेश तहमा परिचालन समिति गठन गर्ने निर्णय भएको छ । केन्द्रमा अध्यक्ष का. चित्रबहादुर के.सी.को संयोजकत्वमा ५ सदस्यीय केन्द्रीय संगठन विस्तार परिचालन समिति गठन भएको छ । त्यसको सदस्यमा का. दुर्गा पौडेल, का. हिमलाल पुरी, का. आनन्द शर्मा र का. मिना पुन हुनुहुन्छ ।
५. प्रदेश परिचालन समितिका इन्चार्जहरु निम्न अनुसार ठेगान गरिएको छ । प्रदेश नं. १ – का. हरिकान्त शर्मा, प्रदेश नं. २ – का. हिमलाल पुरी, प्रदेश नं. ३ का. आनन्द शर्मा, गण्डकी प्रदेश, का. कृष्ण अधिकारी, प्रदेश नं. ५ का. सुरेश थापा, कर्णाली प्रदेश का. जनकराज शर्मा र सुदुरपश्चिम प्रदेश– का.मनोज भट्ट ।
यस संगठन विस्तारको कार्यक्रममा केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरु, केन्द्रीय संगठनकर्ताहरु, सबै जनवर्गीय संगठनहरुका नेता तथा कार्यकर्ताहरु र सबै तहका जनप्रतिनिधिहरुको सहभागीताका लागि अनुरोध गरिएको छ ।केन्द्रीय समितिको सल्लाहकारमा का. अमर थापालाई मनोनयन गरिएको छ । केही प्रदेश इन्चार्जहरु फेरबदल गरिएको छ ।
सुदुरपश्चिम प्रदेश समितिको पुर्नगठन गरिएको छ ।
राष्ट्रिय सभाको निर्वाचनमा गण्डकी प्रदेश र प्रदेश नं. ५ मा भाग लिने निर्णय भएको छ । गण्डकी प्रदेशमा का. शंकर बराल र प्रदेश नंं. ५ मा. का. शिव पौडेललाई राष्ट्रियसभा सदस्यको लागि उम्मेदवार बनाउने निर्णय भएको छ ।”