काठमाडौं । राष्ट्रिय जनमोर्चाले उखु किसानहरुले गरिरहेको राजधानी केन्द्रित आनदोलनप्रति ऐक्यवद्धता जनाएको छ । मंगलबार पार्टी उपाध्यक्ष एवं प्रवक्ता, सांसद दुर्गा पौडेलले विज्ञप्ति प्रकासित गरी आन्दालनको समर्थन गर्नुभएको हो । विज्ञप्तिमा उखु किसानहरुमाथि वर्षौंसम्म अन्याय भइरहँदासमेत सरकारले न्याय दिन नसकेको आरोप लगाइएको छ ।
उखु मिलहरुले किसानलाई भुक्तानी नदिँदा उनीहरुमाथि परेको आघात तथा कृषि क्षेत्रमाथि परेको क्षतिको क्षतिपुर्ती सरकारले नै दिनुपर्ने वक्तव्यमा उल्लेख छ ।
प्रवक्ता पौडेलद्वारा जारी वक्तव्यमा भनिएको छ,
‘उखु मिल मालिकहरुले उखु किसानको एक अरब भन्दा बढी रकम वर्षौंं सम्म नतिरेको कार्यप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । त्यो भन्दा गम्भीर दुःख र क्षोभको विषय यो हो कि वर्षैंदेखि किसानहरुमाथि त्यसप्रकारको अन्याय हँदा पनि सरकारले उनीहरुको न्यायपूर्ण हक दिलाउन सकेको छैन । त्यसको लागि हामीले सरकारको तीब्र आलोचना गर्दछौं ।
हाम्रो जोड यो कुरामा छ कि सम्बन्धित मिल मालिकहरुबाट किसानहरुको बाँकी रकम असूल गर्न आवश्यक प्रक्रिया चलाउँदै किसानहरुले आफ्नो उखु वापत मिल मालिकबाट लिनुपर्ने बाँकी रकम सरकारले आफ्नो तर्फबाट भुक्तानी गर्नुपर्दछ । उखुको त्यति ठूलो रकम बाँकी रहँदा कृषिमाथि गम्भीर आघात पुग्ने कुरा प्रष्ट छ । त्यो राष्ट्रिय सम्पत्तिको नै ठूलो क्षति हो । त्यसैले किसानहरुलाई उनीहरुको क्षतिपूर्ति गर्ने जिम्मा सरकारले लिनुपर्दछ ।
अन्तमा आफ्नो न्यायपूर्ण हकको लागि उखु किसानहरुले जुन आन्दोलन गरिरहेका छन्, त्यसलाई समर्थन गर्दै राष्ट्रिय जनमोर्चाले उनीहरुको आन्दोलनसित ऐक्यवद्धता प्रकट गर्दछ ।’