काठमाडौँ । काठमाडौँ नयाँ बसपार्क गोङ्गबु क्षेत्रका होटलमा अनिवार्य रूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ ।
नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुन सक्ने विभिन्न खालका अपराधिक क्रियाकलाप रोक्न अनिवार्य रूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो ।
सङ्घका अध्यक्ष गणेश ढकालले सङ्घभित्र आबद्ध होटलहरूको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा जानकारी दिँदै सबै होटलले अनिवार्य रूपमा सिसी क्यामेरा जडान गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
त्यस्तै, वडा कार्यालय र अन्य ठाउँमा दर्ता नभएका होटललाई दर्ता गर्न लगाई मर्यादित ढङ्गले सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । कानुनले नदिएका अनैतिक क्रियाकलापलाई रोक्नका लागि होटलमा आउने पाहुनाको अनिवार्य रूपमा रेकर्ड राख्नुपर्ने भएको छ ।
होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले वि.सं. २०५७ मा स्थापना भएको सङ्घमा हाल नयाँ बसपार्क क्षेत्र गोङ्गबु, सुन्धारा, बाँसबारीलगायतका क्षेत्रका चार सयभन्दा बढी होटल व्यवसायी आबद्ध छन् ।