समीर सिंह
वर्गसङ्घर्षको स्वरूप विभिन्न प्रकारको हुन सक्छ । राष्ट्रियता र जनतन्त्रका लागि चल्ने आन्दोलन पनि वर्गसङ्घर्ष हो; शान्तिवाटिकामा भाषण गरेको पनि वर्गसङ्घर्ष हो; संसद्भित्र गएर त्यसको गलत पक्षको भण्डाफोर गरेको पनि वर्गसङ्घर्ष हो । समय र परिस्थितिअनुसार विभिन्न आन्दोलनको आआफ्नै महत्त्व हुन्छ । एकदमै “क्रान्तिकारी” गफ मात्र वर्गसङ्घर्ष हुने, अरू सबै दक्षिणपन्थी व्यवहार हो भन्न मिल्दैन ।
क. चित्रबहादुर केसी नेपाल सरकारको उपप्रधानमन्त्री हुँदा राष्ट्रियताको पक्षमा अडान राख्दै भारतीय साम्राज्यवादको विरोध गरिरहनुभयो । त्यसरी विरोध गर्दा उसले वक्तव्य नै जारी गर्नुपर्ने स्थिति सिर्जना भयो । शान्तिवाटिकामा गर्ने भाषणको आफ्नै महत्त्व होला तर सधैँ त्यसरी मात्र बोल्दा विदेशी शक्तिले नसुन्न सक्छ । सरकारमा गएर देशी तथा विदेशी शक्तिको अगाडि लम्पसार पर्नुभएन तर त्यहाँ गएर गलत पक्षको भण्डाफोर गर्न आवश्यकताअनुसार सरकारमा जान सकिने भयो । त्यो पनि वर्गसङ्घर्षको एउटा रूप हो । क. चित्रबहादुर सरकारमा गएर उहाँको महत्त्वपूर्ण भूमिकाले राष्ट्रियताको आन्दोलनलाई थप उचाइमा पुर्याएको यथार्थतालाई हामीले स्वीकार गर्नुपर्ने नै हुन्छ ।
क. दुर्गा पौडेलले प्रतिनिधि सभामा र क. राजेश विकले राष्ट्रियसभामा संसदीय राजनीतिका गलत पक्षको भण्डाफोर गर्दै आउनुभएको छ । एमसिसी र नागरिकता विधेयकका विरुद्ध सडकमा विभिन्न आन्दोलन हुँदै आएका छन् । यी आन्दोलनको आफ्नै महत्त्व छ । हजारौँ आन्दोलनकारी मानिस सडकमा ओर्लिएर राष्ट्रघात र जनघातका विरुद्ध आन्दोलित भइरहेका छन् ।
यी आन्दोलनलाई थप उचाइमा पुर्याउनुपर्छ तर फरक प्रकारले पनि यस प्रकारका आन्दोलनलाई सघाउने कार्य हुन्छ भने त्यसमा किन आपत्ति गर्नु ? त्यो फरक प्रकारको सङ्घर्ष भनेको संसदीय आन्दोलन हो । त्यो आन्दोलनमा क. दुर्गा पौडेल र क. राजेश विकले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ भनेर हामीले मूल्याङ्कन गर्नुपर्ने नै हुन्छ । सय जना मानिस शान्तिवाटिकामा बसेर नागरिकता विधेयकको विरोध गर्दा भारतीय साम्राज्यवादले नसुन्न पनि सक्छ तर एउटा मात्र व्यक्ति संसद्मा गएर विरोध गर्दा त्यसको धेरै भार हुन सक्छ । त्यसकारण पनि क्रान्तिकारी शक्तिहरू आवश्यकताअनुसार संसद्भित्र पस्नुपर्दछ ।
भारतमा स्वतन्त्रता आन्दोलनको समयमा सडकमा आन्दोलन चलिरहँदा अङ्ग्रेजहरूले सुनेनन् भनेर भगत सिंहले संसद्मा बम पड्काइदिए । संसद्मा भएको त्यस प्रकारको बम प्रहारले अङ्ग्रेज विरोधी आन्दोलनलाई थप उचाइमा पुर्याइदियो । कुनै परिस्थितिमा त्यो बमको ठुलो महत्त्व भयो होला । अहिलेको परिस्थितिमा बम पड्काउने परिस्थिति अवश्य पनि होइन तर पनि देशी तथा विदेशी शक्तिको फोहोरो राजनीति बढ्दै गइरहेको सन्दर्भमा क्रान्तिकारी शक्तिको संसदीय भूमिकाले पनि ठुलो महत्त्व राख्दछ ।
बागबजारको चिया पसलमा एक जना कमरेडले मलाई भन्नुभयो– “तपाई जस्तो मानिसले वामपन्थको वकालत गर्ने ? प्रगतिशीलताको कुरा गर्ने ?” उहाँको जोड थियो– “हामीले कम्युनिस्टभन्दा तलको कुरा गर्नु नै हुँदैन । प्रगतिवादभन्दा तलको कुरा नै गर्नु हुँदैन ।
द्वन्द्वात्मक भौतिकवादी दर्शनले हामीलाई के सिकायो भने मात्राबाट गुणमा परिवर्तन हुने हो । कुनै पनि ठुलो परिवर्तनका लागि साना साना परिवर्तनको पनि ठुलो महत्त्व हुन्छ । साना साना सुधारात्मक आन्दोलनले आमूल परिवर्तनका लागि महत्त्वपूर्ण आधार तयार पारेको हुन्छ । मानिसको जीवनसँग जोडिएका साना साना सामाजिक, राजनीतिक, आर्थिक सुधारात्मक आन्दोलनले गुणात्मक परिवर्तनका लागि आधार तयार पार्दै गइरहेको हुन्छ । आमूल परिवर्तनका लागि कम्युनिस्ट आन्दोलनको मात्र सही भूमिका हुन्छ भन्ने होइन । सबै मानिस प्रगतिवादी नहुन पनि सक्छन् । वामपन्थको आन्दोलन तथा प्रगतिशीलताले पनि आमूल परिवर्तनको दिशामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।
गणतन्त्रको कुरा गरेपछि दक्षिणपन्थी भइने र नयाँ जनवादको कुरा गरेपछि क्रान्तिकारी हुने भन्ने होइन । त्यसरी क्रान्तिकारी भइने भए त नयाँ जनवादको मात्र किन कुरा गर्ने ? समाजवादभन्दा तलको कुरा नै नगरे भयो । त्यति मात्र किन ?
साम्यवादभन्दा तलको कुरा नै नगरे भयो । साम्यवादभन्दा तलको कुरा गर्नेलाई दक्षिणपन्थी भनेर घोषणा गरिदिए भयो तर यी सबै वामपन्थी लफ्फाजीका कुरा भए । मूल कुरा ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने हो । समय र परिस्थितिको सही रूपमा चिरफार गर्दै योजना र कार्यक्रम निर्धारण गर्ने हो । कतिपय अवस्थामा ठुला ठुला कुराले मात्र होइन, सानो सानो कुराले पनि ठुलो महत्त्व राखिराखेको हुन्छ । यो अवस्थामा सानो सानो ठाउँमा आफ्नो पाइला टेक्दै अगाडि बढ्नुपर्ने हुन्छ । सानो सानो परिवर्तनका लागि त्यो परिवर्तनमा हिड्ने शक्तिसँग सम्बन्ध बनाउँदै अगाडि बढ्नुपर्ने हुन्छ । सधैँ एकै प्रकारको हिडाइ हुनुपर्दछ भन्ने होइन । आवेशको आधारमा हाम्रो हिड्ने तरिका रोज्नेभन्दा पनि परिस्थितिको ठोस विश्लेषण गरेर नै हाम्रा योजना र गतिविधि निर्धारित गरिनुपर्दछ ।
अहिले देश चुनावमय भएको अवस्था छ । यो अवस्थामा चुनावबाट टाढा बसेर जनतासँग सम्बन्ध बनाउन सकिने अवस्था छैन । त्यसको विपरीत चुनावको फोहोरो राजनीतिभित्र पसेर क्रान्तिकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ । चुनाव बहिष्कार गरेपछि क्रान्तिकारी भइने र उपयोग गरेपछि दक्षिणपन्थी भइने भन्ने होइन । मूल कुरा फोहोरोभित्र पसेर हामीले क्रान्तिकारी भूमिका निर्वाह गर्न सक्छौँ कि सक्दैनौँ भन्ने नै हो । मूल कुरा चुनावी राजनीतिका आधारमा आफ्ना विचारलाई स्थापित गर्न तथा त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हो । मूल कुरा श्रमजीवी जनतासँग सम्बन्ध बनाउँदै उनीहरूको न्यायपूर्ण आन्दोलनलाई उठान गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हो ।
हाम्रो देशमा चुनाव आएको छ तर चुनावको राजनीतिले सबैभन्दा बढी दक्षिणतिरको शक्तिलाई छोएको छ । देशको धर्म निरपेक्षतालाई समाप्त पार्ने र हिन्दु राज्य कायम गर्ने, त्यसका साथै देशलाई निरङ्कुशतातर्फ धकेल्न त्यो शक्ति प्रयासरत छ । गणतन्त्रभन्दा निरङ्कुशताबाट आफ्नो साम्राज्यवादी स्वार्थ पूरा हुने हुँदा उनीहरू सामन्त गोयलको नेपाल भ्रमणदेखि नै आफ्नो कथित उद्देश्यमा प्रयासरत छ ।
दक्षिणतर्फको शक्तिले भनेअनुसार देशमा संविधान नबनेदेखि नै नियोजित रूपमा आफ्नो फोहोरो राजनीति गर्दै आएको छ । त्यसका लागि नेपालका विभिन्न राजनीतिक दललाई प्रयोग गर्दै आएको अवस्था पनि छ । बाहिरबाट हेर्दा दक्षिणतिरको शक्तिले कुनै राजनीति गरेको जस्तो देखिदैन तर अहिलेको नेपालको फोहोरो राजनीतिलाई उसैले निर्देशित गरिरहेको अवस्था छ । यस प्रकारको कथित राजनीतिलाई परास्त गर्न पनि क्रान्तिकारी शक्तिहरू चुनावी राजनीतिमा प्रवेश गर्नुपर्ने आवश्यकता छ ।
नारायण गोपालको एउटा गीत छ– “मुटुमाथि ढुङ्गा राखी हास्नुपर्या छ” । वास्तवमा अहिले पनि नेपालका क्रान्तिकारी शक्तिहरू मुटुमाथि ढुङ्गा राखेर हिड्नु परिरहेको अवस्था छ । अहिले हामी नयाँ जनवादी आन्दोलनसम्म पुगिसकेको अवस्था छैन । अझ पनि गणतन्त्रलाई बलियो बनाउने आन्दोलनमा संलग्न छौँ । गणतन्त्रका विरुद्ध विभिन्न आक्रमण भइरहेको अवस्थाका कारण पनि यो आन्दोलनमा जोडिने सबै शक्तिलाई एकै ठाउँमा राख्दै अगाडि बढ्नुपर्ने आवश्यता छ तर प्रतिगमन विरोधी आन्दोलनमा जोडिन आउने शक्तिहरू एमसिसी तथा नागरिकता विधेयक पक्षधर छन् । उनीहरू सङ्घीयताको पक्षधर छन् । यस प्रकारको चुनौतीपूर्ण अवस्थामा एउटा आन्दोलनलाई अगाडि बढाउन कतिपय सम्झौता पनि गर्नुपर्ने परिस्थिति सृजना भएको छ । प्रतिगमन विरोधी आन्दोलनलाई अगाडि बढाउन एमसिसी तथा नागरिकता विधेयक पक्षधरसँग हातेमालो गर्नुपर्ने अवस्था छ ।
आन्दोलनको परिभाषा पनि यस्तै हो । एकदम क्रान्तिकारी शक्ति मिलेर आन्दोलन तथा सङ्घर्ष अगाडि बढ्छ भन्ने होइन । कतिपय अवस्थामा अवसरवादी तथा प्रतिक्रियावादी शक्तिसँग पनि हातेमालो गर्नुपर्दछ । सधैँभरि एकता मात्र हुन्छ भन्ने होइन । कुनै एउटा विषयमा आन्दोलन उठान गरिन्छ भने त्यो विषयमा समेटिन सक्ने शक्ति एकजुट भएर नै आन्दोलन गर्ने हो । सय प्रतिशत शुद्ध क्रान्तिकारी भएपछि मात्र कुनै आन्दोलन उठान गर्ने भन्ने हो भने त्यो कहिल्यै पनि सम्भव छैन । एकता–सङ्घर्ष–एकता तथा सङ्घर्ष–एकता–सङ्घर्ष जुनसुकै अवस्थासँग पनि हिड्न सक्नुपर्दछ । फोहोर बाहिर बसेर ठुला ठुला गफ गर्नेभन्दा त्योभित्र पसेर त्यसलाई सफा गर्ने कुनै पनि क्रान्तिकारी शक्तिको रणनीति हुनुपर्दछ । फोहोरभित्र पस्न मुटुभित्र ढुङ्गा राख्नुपर्छ होला । फेरि पनि हास्नका लागि प्रयास त गर्नुपर्ने नै हुन्छ ।
गणतन्त्र र धर्म निरपेक्षतालाई बलियो बनाउने आन्दोलनमा सबैभन्दा राम्रो भूमिका क्रान्तिकारी शक्तिको नै हुन सक्दछ । त्यसकारण पनि क्रान्तिकारी विचार भएकाको संसद्मा प्रतिनिधित्व हुनुपर्दछ तर उनीहरूलाई पराजित गर्न विभिन्न प्रकारका भ्रमका खेती अहिलेबाट नै सिर्जना गरिँदै छ । सरकारमा नजाने पार्टीलाई किन भोट दिने ? पैसा खर्च गर्नेले मात्र चुनाव जित्ने हो; राजमोले पैसा खर्च गर्न सक्दैन; त्यसैले चुनाव जित्ने होइन । नेताको आफन्तलाई किन भोट दिने ? जस्ता भ्रम फैलाइरहेको अवस्था छ । भ्रष्टाचार र कमिसनबाट राष्ट्रको दोहन गर्नेले मात्र पैसा बाँड्ने हो । देशलाई खोक्रो बनाउने नै त्यस्ता नेताले हो ।
थोरै थोरै विकास गरे जस्तो गर्ने तर धेरै पैसा आफूले कुम्ल्याउनेले देशको विकास गर्छन् भन्नु नै हास्यास्पद तर्क हो । चुनाव जितेर फेरि भ्रष्टाचारमा लिप्त हुने नै त्यस प्रकारका उम्मेदवारको उद्देश्य हुन्छ । त्यस प्रकारका उमेदवारको भण्डाफोर गर्दै क्रान्तिकारी शक्तिले विजय प्राप्त गर्नु नै अहिलेको चुनावको उद्देश्य हुनुपर्दछ । यो पनि एक प्रकारको वर्गसङ्घर्ष हो । अहिले धेरै ठुला ठुला गफ गर्नुभन्दा पनि यस प्रकारको आन्दोलनमा केन्द्रित हुनु नै आन्दोलनको एउटा रणनीति हुनुपर्दछ ।