काठमाडौं । नेपाली सेनाले खेलकुदको विकासका लागि १० करोडको अक्षयकोष स्थापना गरेको छ । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाका प्रशिक्षक तथा खेलाडीलाई शुक्रबार सम्बोधन गर्दै सो जानकारी दिनुभएको हो ।
प्रधान सेनापति शर्माले नेपाली सेनामा खेलकुदको विकासका लागि व्यवस्था गरिएको रु. १० करोडको अक्षयकोषले आगामी दिनमा खेलाडीहरुको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक, प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिती रहेको थियो ।

साथै उहाँले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ मा आफूलाई प्राप्त प्रशिक्षणलाई मनन् गर्दै आफ्नो क्षमता प्रदर्शन गरी बढी भन्दा बढी स्वर्ण पदक प्राप्त गर्दै पुनः त्रिभुवन आर्मी क्लबलाई टिम च्याम्पियन बनाउन सम्पूर्ण प्रशिक्षक तथा खेलाडीहरुलाई शुभकामना दिनुभयो ।
यही असोज २८ गतेदेखि २०७९ कात्तिक ३ गतेसम्म पोखरामा ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ सञ्चालन हुन गइरहे छ ।
कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी समेत प्रदर्शनी गरिएको नेपाली सेनाले जनाएको छ।