काठमाडौं । विभिन्न चिनी मिलहरुले किसनबाट उखु खरिद गरेको एक अर्ब १७ करोड रुपैयाँ भुक्तान गर्न बाँकी रहेको देखिएको छ । सोमबार कृषि मन्त्रालयले गृह मन्त्रालयलाई उपलब्ध गराएको विवरणमा विभिन्न चिनी उद्योगहरुले करिब १ अर्ब १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको हो ।
कृषिले किसानको रकम भुक्तान नगर्ने मिल सञ्चालकहरुलाई कारबाही गर्न पनि गृह मन्त्रालयसँग आग्रह गरेको छ । चिनी उद्योगीहरुले रकम भुक्तानी नगरेको भन्दै किसानहरु राजधानीमा आएर प्रदर्शन शुरु गरेपछि यो विषयमा सरकारी निकायहरुले चासो व्यक्त गरेका छन्।
मन्त्रालयका अनुसार अधिकांश चिनी मिल सञ्चालकहरु सम्पर्कमा छैनन् । उद्योग समितिमा सोमबारको बैठकमा कृषिमन्त्री घनश्याम भुसालले किसानको उखु खरिद गरेको रकम भुक्तानी गर्ने अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक वीरेन्द्र कनौडिया सम्पर्कमा नरहेको र सरकारले खोजिरहेको बताए ।
सर्लाहीको धनकौलमा रहेका अन्नपूर्ण सुगरमा मिलले किसानलाई ३० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको अनुमान जिल्ला प्रशासन कार्यालयले गरेको छ । त्यसैगरी नेपाल चिनी उद्योग संघकाअनुसार सर्लाहीकै महालक्ष्मी सुगर मिलले २१ करोड ४० लाख रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको छ ।
नवलपरासीको कुडियामा अवस्थित बागमति खाँडसारी चिनी उद्योगले ८ करोड ४१ लाख, नवलपरासीका सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख, नवलरासीको इन्दिरा सुगर मिलले ११ करोड २२ लाख, रौतहटका गरुडामा रहेको श्रीराम सुगर मिलले २६ करोड ७७ लाख, बाराका रिलाइन्स सुगर मिलले ६१ लाख, सिराहाको इस्टर्न सुगर मिलले २० लाख रुपैया भुक्तान गर्न बाँकी रहेको छ। महोत्तरीको एभरेष्ट सुगर मिलले ७ करोड ३९ लाख, रौतहटका बाबा बैजु चिनी मिलले २५ लाख भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
किसानहरुले उखुको भुक्तानी पाउनुपर्ने भन्दै केही दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् ।
कृषि मन्त्रालयले गृहलाई लेखेको पत्रमा अघिल्ला वर्षहरुमा किसानबाट उखु खरिद गरेर भुक्तानी नगर्ने उद्यमीलाई कानुनी कारबाही गर्न र आगामी दिनमा समयमा रकम भुक्तानी नभएको विषयलाई जिल्ला प्रशासन कार्यालयमार्फत चाँडो सम्बोधन हुने गरी व्यवस्था मिलाउन आग्रह गरेको छ ।
एक वर्षअघि २०७५ कार्तिक ७ मा पनि कृषि मन्त्रालयले पाँच दिनभित्र उखु किसानका रकम भुक्तानी गरेर कानुनी कारबाही शुरु गर्न अनुरोध गर्दै पत्र लेखेको थियो ।
