डडेल्धुरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले डडेल्धुरा बहुमुखी क्याम्पसको स्ववियु लेटरप्याड दुरुपयोग गरिएको भन्दै आपत्ति जनाएको छ ।
जिल्ला समितिका सचिव पवन विष्टले विज्ञप्ति प्रकाशित गरी डडेल्धुरा बहुमुखी क्याम्पसको लेटरप्याडको दुरुपयोग भएकोप्रति गम्भीर ध्यानआकर्षण भएको जनाउनुभएको छ।
‘अमुक व्यक्तिको स्वार्थका लागि क्याम्पसको लेटरप्याड दुरुपयोग हुनु प्राशासनिक अपराध हो’ विज्ञप्तिमा भनिएको छ, ‘स्ववियु सभापतिको छाप र हस्ताक्षर रहेको उक्त लेटरप्याडको वास्तविकता पत्ता लगाइ दोषीलाई कारबाहीको माग गर्दछ ।’
लामो समयदेखि स्ववियुको निर्वाचन नहुँदा हाल निर्वाचित स्ववियु छैन । तर, डडेल्धुरा बहुमुखी क्याम्पसको विघटित स्ववियुले लेटरहेड प्रयोग गरी खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो । त्यसप्रति विभिन्न विद्यार्थी संगठनहरुले विरोध गरेपछि पुनः स्ववियुकै लेटरहेड प्रयोग गरी खण्डन गरेको छ ।
विघटित स्ववियुका सभापतिले गरेको लेटरप्याडको दुरुपयोगप्रति आपत्ति प्रकट गर्दै अखिल (छैठौ) ले बाँकी परिस्थितिको जिम्मेवारी क्याम्पस प्रशासनले निलनुपर्ने चेतावनी दिएको छ ।
