का. हुकुमबहादुर
गत असारको अन्तिम दुई साता श्रीलङ्कामा उठेको विशाल जनआन्दोलनको आँधीबेहरीले राष्ट्रपति गोटाबाया राजपाक्षेको सत्ता उल्टाइदियो । राष्ट्रपति भवन आन्दोलनकारीले कब्जामा लिए । राष्ट्रपति गोटाबाया राजपाक्षेलाई ज्यान जोगाउन लुकेर बस्नुपर्याे । अन्ततः उनी भागेर सुरुमा माल्दिभ्स पुगे । त्यहाँबाट सिङ्गापुरको प्रवेश अनुमति लिएर असार ३० गते सिङ्गापुर पुगे ।
पृष्ठभूमि
श्रीलङ्का सुरुमा पोर्चुगलको उपनिवेश थियो । पोर्चुगलले सुरुमा राखेको नाम सिलोन थियो । सन् १८३३ सम्म आइपुग्दा सिलोनमा बृटिस उपनिवेश कायम भयो र सन् १९४८ सम्म यहाँ उनीहरूले राज गरे । फेबु्रअरी ४, १९४८ मा सिलोन बृटिस उपनिवेशबाट मुक्त भयो तर हेड अफ द स्टेटको रूपमा बृटिस राजमुकुट नै रहने व्यवस्था गरियो । १९७२ मा बृटिस राजमुकुट हटाएर रिपब्लिक अफ श्रीलङ्का बन्यो । त्यतिखेरदेखि नै (आकर्षक प्रायद्वीपको अर्थमा) श्रीलङ्काको नाम प्रचलनमा आयो । यहाँको जनसङ्ख्या २ करोड २० लाख रहेको छ र भाषा सिन्हाला र तमिल हो ।
राजपाक्षे परिवारको उदय
बृटिस उपनिवेश काल छँदै १९३० को दशकमा राजपाक्षे परिवारका डन डेभिड राजपाक्षे पहिलो व्यक्ति थिए, जो राजनीतिमा सक्रिय भएर स्थानीय पञ्चायतको चुनावमा निर्वाचित भएका थिए । डेभिड राजपाक्षेका छोरा डन म्याथ्यू १९३६ मा हम्बनटोटा जिल्ला परिषद्मा निर्वाचित भएका थिए ।
१९४५ मा डन म्याथ्यूको मृत्युपछि उनका भाइ डन एल्बिन उपचुनावमा निर्विरोध दाजुको ठाउँमा विजयी भए । उनी १९४७ देखि १९६५ सम्म हम्मनटोटा संसदीय क्षेत्रबाट सांसद रहे । उनका ६ भाइ छोरा र ३ छोरी थिए ।
डन एल्बिनको मृत्युपछि उनका माइला छोरा महिन्द्रा राजपाक्षे पहिलोपटक सन् १९७० मा श्रीलङ्काको सांसदमा चुनिए । त्यसपछि राजनीतिमा उनी यति हाबी भए कि उनको पार्टी श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) को उच्च स्तरका नेता बने । १९०४ मा थोरै समयका लागि प्रधानमन्त्री पनि बने । अर्को साल २००५ मा महिन्द्रा राजपाक्षे श्रीलङ्काको राष्ट्रपतिमा चुनिए । त्यसयताका करिब १७ वर्ष श्रीलङ्काको सत्तामा राजपाक्षे परिवारको हालिमुहाली रह्यो ।
१९७६ देखि श्रीलङ्काको उत्तरी इलाकाबाट सुरु भएको तमिल पृथकतावादी लिट्टे आन्दोलनलाई ३३ वर्षपछि २००९ मा महिन्द्रा राजपाक्षेकै शासनकालमा अन्त्य गराइएको थियो र त्यसका नेता प्रभाकरणलाई सरकारी सेनाद्वारा मे १९, २००९ मा हत्या गरिएको थियो ।
तमिल आन्दोलनलाई समाप्त गरिसकेपछि महिन्द्रा राजपाक्षे सिंहाली राष्ट्रियताका नायक नै बने । २०१० मा भएको राष्ट्रपतिको चुनावमा पनि उनी विजयी भए । २०१५ मा भने महिन्द्रा राजपाक्षेको नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्रीसमेत रहेका उनकै पार्टी श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) का महासचिवसमेत रहेका मैत्रीपाला सिरिसेनाले राजपाक्षेसँग मतभेद राख्दै विपक्षी पार्टी युनाइटेड नेसनल पार्टी (युएनपी) सँग गठबन्धन गरेर न्यू डमोक्रेटिक फ्रन्टको तर्फबाट राष्ट्रपतिमा खडा भए । निर्वाचनमा महिन्द्रा राजपाक्षेलाई हराएर सिरिसेना राष्ट्रपति बने । २०१९ मा पुनः राजपाक्षे परिवारका गोटाबाया राजपाक्षेले चुनाव जितेका थिए ।
भण्डारनायके परिवारको शासन
राजपाक्षे परिवारको शासनभन्दा पहिले श्रीलङ्कामा भण्डारनायके परिवारको बोलवाला थियो । श्रीलङ्का बृटिस उपनिवेशबाट मुक्त भएपछि त्याहाँको प्रथम प्रधानमन्त्रीमा सोलोमन भण्डारनायके हुने सम्भावना थियो तर उनको पार्टी युनाटेड नेसनल पार्टी (युएनपी) ले उनलाई प्रधानमन्त्री नबनाएर डन स्टेफन सेनानायकलाई प्रधानमन्त्री बनायो ।
इतिहास कस्तो अचम्मको छ भने पार्टीबाट असन्तुष्ट रहेका भण्डारनायकेलाई महिन्द्रा राजपाक्षेकै पिता डन एल्बिनले साथ दिएका थिए र उनीहरू मिलेर सन् १९५१ मा नयाँ पार्टी श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) निर्माण गरे । १९५६ मा एसएलएफपीको तर्फबाट भण्डारनायके परिवारबाट सोलोमन भण्डारनायके पहिलो प्रधानमन्त्री भए । उनको बौद्ध भिक्षुको रूपमा आएको एक जना चरमपन्थीले सेप्टेम्बर २६, १९५९ मा गोली हानी हत्या गरिदियो । त्यसपछि पार्टीअध्यक्ष र प्रधानमन्त्रीको दाबेदारमा रहेका डन एलबिन राजपाक्षे प्रधानमन्त्री बन्न चाहे तर सोलोमन भण्डारनायकेकी पत्नी सिरिमाओ भण्डारनायके आफै राजनीतिमा आइन् र पार्टीअध्यक्षको कमान सम्हालिन् । १९६० को निर्वाचनमा उनी श्रीलङ्काको र दुनियाँकै पहिलो प्रधानमन्त्री बनिन् । यसपछि सिरिमाओ भण्डारनायकेकी नातिनी चन्द्रिका भण्डारनायके कुमारतुङ्गा राजनीतिमा अगाडि आइन् । १९९४ को राष्ट्रपति निर्वाचनमा चन्द्रिका भण्डारनायके कुमारतुङ्गा विजयी भइन् र श्रीलङ्काको पहिलो महिला राष्ट्रपति बन्ने अवसर पाइन् ।
श्रीलङ्कामा भण्डरनायके परिवारको सत्ता लामो समय चले पनि राजपाक्षे खानदानका जसरी पूरै देशको सत्तामाथि उनीहरूले कब्जा गरेनन् । गत वर्ष बिबिसीसँगको संवादमा कोलम्बोका एक राजनीतिक टिप्पणीकार जयदेव उयानगोडाले भनेका थिए– “श्रीलङ्कामा पहिले पनि सेनानायके, जयवद्र्धने र भण्डरनायके जस्ता राजनीतिक परिवारको दबदबा रह्यो तर राजपाक्षे परिवारले परिवारवादको नयाँ उचाइ छोएका छन् ।”
राजपाक्षेको परिवारिक मन्त्रिमण्डल
जयदेव उयानगोडा परिवारिक मन्त्रिमण्डलबारे टिप्पणी गर्दै भन्छन्– “पहिलेका राजनीतिक परिवार सरकार मात्रै नियन्त्रणमा राख्न चाहन्थे तर राजपाक्षे परिवार पूरै व्यवस्था नियन्त्रण गर्न चाहन्छन् ।”
राजनीतिमा राजपाक्षे खानदानका मुखिया महिन्द्रा राजपाक्षे हुन् । उनले नै सेनाबाट अवकाश भएर १९९८ मा अमेरिका पलायन भएका उनका भाइ गोटाबाया राजपक्षलाई आफूलाई सघाउन देशमा फिर्ता बोलाएका थिए । उनले १९०५ मा राष्ट्रपतिको चुनाव जितेपछि गोटाबायालाई रक्षासचिवमा नियुक्त गरे । पछि गएर उनी रक्षामन्त्री पनि बने । उनका कान्छा भाइ बसिल राजपाक्षे राष्ट्रपतिको प्रमुख सल्लाहकारमा नियुक्त भए । महिन्द्रा राजपक्षकै राष्ट्रपति कालमा उनका जेठा दाइ चमाल राजपाक्षेलाई पनि सत्तामा मत्वपूर्ण पद दिइएको थियो र उनी कैयौँपटक मन्त्री भएका थिए ।
तमिल विद्रोहलाई नियन्त्रणमा लिएपछि राजपाक्षेको शक्ति झन् मजबुत भयो । परिवारवाद, निरङ्कुशता र सरकारी स्रोतको दुरूपयोग भएकै कारण मैत्रिपाला सिरिसेनाले पार्टीमा विद्रोह गरे र विपक्ष गठबन्धनमा सामेल भएर २०१५ मा राष्ट्रपतिमा निर्वाचित भए ।
२०१९ मा पुनः राजपाक्षे सत्तामा आएपछि राजपाक्षे परिवारका पाँच जना सदस्य त मन्त्रिमण्डलमै थिए । गोटाबाया राजपाक्षे राष्ट्रपति, महिन्द्रा राजपाक्षे प्रधानमन्त्री, चमाल राजपाक्षे सिँचाइमन्त्री, बासिल राजपाक्षे वित्तमन्त्री र महिन्द्रा राजपाक्षेका छोरा नमल राजपाक्षे खेलमन्त्री थिए । भनिन्छ, कुनै बेला देशको समग्र बजेटको ७० प्रतिशत हिस्सा राजपाक्षे परिवारकै हातमा हुने गर्दथ्यो ।
राष्ट्रवादी छवि बनाएर सत्तामा पुगेका गोटाबाया तमिल बिद्रोह दबाउन सफल रहेको, देशमा आफ्नो पार्टी शक्तिशाली रहेको, राजधानी कोलम्बोको सौन्दर्यीकरणमा आफ्नो भूमिका रहेको ठानेर गोटाबायाले आफू निकै शक्तिशाली अवस्थामा रहेको महसुस गरे । उनी निर्वाचित भएको एक वर्ष नपुग्दै विश्व कोरोना महामारीको चपेटामा आयो ।
अर्थतन्त्रको १० प्रतिशत हिस्सा पर्यटनले धानेको श्रीलङ्कामा कोरोनापछि पर्यटक आउनै छाडे । अर्थतन्त्रमा १३ प्रतिशत योगदान रेमिटेन्सको थियो । कोरोनाकालमा त्यो घटेर चार प्रतिशतमा झर्याे । अति महत्वाकाङ्क्षी र हचुवाका भरमा सुरुवात गरिएको अर्गानिक कृषियोजनाका कारण कृषि उत्पादनमा ५० प्रतिशतको ह्रास आयो ।
त्यस्तै, चुनावमा लोकप्रियताका लागि कर कटौतिको योजनाले पनि राष्ट्रिय आय कमजोर भयो । बैदेसिक ऋणको पासोले पनि श्रीलङ्काको अर्थतन्त्रलाई धेरै कमजोर बनायो । श्रीलङ्का अहिले करिब ४० बिलियन डलरको बैदेसिक ऋणमा छ । सन् २०१९मा ऋणभार कुल गार्हस्थ्य उत्पादनको ६२ प्रतिशत थियो भने सन् २०२१ को अन्त्यतिर १०१ प्रतिशत पुग्यो अर्थात् आन्तरिक अर्थशास्त्र सङ्कुचन भयो भने ऋण झन् झन् थपियो । परिवारवाद, भष्ट्राचारको कारणले राष्ट्रले सही नीति अपनाउन नसक्दा श्रीलङ्का सन् १९४८ मा बृटिस उपनिवेश मुक्त भएपछिको ७३ वर्षको अवधिमा पहिलोपटक आर्थिक सङ्कटको खाडलमा धकेलियो ।
१९९० को दशकयता मानवीय विकास सूचाङ्कमा श्रीलङ्का निरन्तर सुध्रिएको देखिन्थ्यो । साक्षरता दर दक्षिण एसियाकै उच्च र विश्वकै उच्चमध्ये एक करिब ९३ प्रतिशत पुगेको थियो । प्रतिव्यक्ति आय करिब ४ हजार डलर पुगेको थियो, जो दक्षिण एसियाली देशमा माल्दिभ्सपछिको दोश्रो उच्च हो तर गत वर्षको अप्रिल महिनापछि अर्थतन्त्रमा अस्वाभाविक असन्तुलन देखा पर्न थाल्यो । मूल्यवृद्धि अचाक्ली बढ्यो । इन्धनको अभाव भयो । बजारमा खाद्यान्न, स्वास्थ्य सामग्री, औषधीमुलोको चर्को अभाव भयो । पाँच लाख मानिस गरिबीको रेखामुनि झरे । दुई लाखभन्दा बढीले रोजगारी गुमाए । वार्षिक औसत ७.५ प्रतिशत बिलियन डलर हुने बैदेसिक मुद्राको सञ्चिति २.८ बिलियन डलरमा झ¥यो । श्रीलङ्काली रुपियाँ अमेरिकी डलरसँग २० प्रतिशत बढीले अवमूल्यन भयो । श्रीलङ्काको रिजर्ब बैङ्कले व्यापारीलाई अत्यावश्यक सामग्री आयातका लागि बैदेसिक मुद्रा उपलब्ध गराउन सकेन । सरकारको ढुकुटी खालि बराबर भयो ।
श्रीलङ्का यो रूपमा आर्थिक टाट पल्टिनुमा राजपाक्षे परिवार र उनको सरकारलाई मुख्य दोषी ठान्दै सरकार विरुद्ध जनआक्रोश बढ्दै गयो र सडकमा ठुला ठुला प्रदर्शन भए । यसै वर्षको मार्च ३१ मा राष्ट्रपति गोटाबायाको निजी निवासमा सयौँ प्रदर्शनकारीले आक्रमण गरे र “गोटा गो होम” को नारा घन्काए । यस्ता कैयौँ सङ्केतपछि पनि गोटाबायाले “गोटाबाया गो होम” नारालाई नजरअन्दाज गरे । उनले आफूबाहेक अन्य भाइलाई सरकार छाड्न भने । प्रधानमन्त्री महिन्द्रा राजपाक्षे, वित्तमन्त्री बासिल राजपाक्षे तथा रक्षामन्त्री चमाल राजपाक्षेले सरकार छाडे ।
महिन्द्रा राजपाक्षेले प्रधानमन्त्री छाडेपछि आर्थिक सङ्कटका बिच गत वैशाख २९ गते रनिल विक्रमासिङ्घे नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका थिए । गोटाबाया राजपाक्षेले नयाँ प्रधानमन्त्री नियुक्त गरेर आफ्ना भाइहरूलाई सरकारबाट हटाए पनि गोटाबाया विरुद्धको आक्रोश भने झन् झन् बढ्दै गयो । अन्ततः गोटाबायाको राजीनामा माग्दै २०७९ असार २५ गते ठुलो सङ्ख्यामा प्रदर्शनकारीले राष्ट्रपति भवन प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिए ।
गोटाबायाको राजीनामापछि यही साउन ४ गते सांसदले रनिल विक्रमासिङ्घेलाई राष्ट्रपतिमा चुनेको छ तर प्रदर्शन रोकिएका छैनन् । प्रदर्शनकारीले रनिल पनि गोटाबायाकै विश्वासपात्र भएकाले उनको पनि राजीनामा माग्दै प्रदर्शन भइरहेका समाचार आइरहेका छन् ।
साउन ६ गते श्रीलङ्काको पन्ध्रौँ प्रधानमन्त्रीमा श्रीलङ्का पोदुजाना पेरामुना पार्टीका ७३ वर्षीय सांसद दिनेश गुणवर्धनाले शपथ लिएका छन् । श्रीलङ्कामा हाल निर्माण भएको नयाँ नेतत्वको सरकारले आगामी दिनमा कसरी काम गर्छ ? जनताले केही राहत महसुस गरेर प्रदर्शन रोक्छन कि रोक्दैनन् ? आर्थिक सङ्कटमा जेलिएको श्रीलङ्काले कसरी मुक्ति पाउँछ ? त्यसैमा आगामी श्रीलङ्काको भविष्य निर्धारण हुने छ ।
नेपाली राजनीतिले सिक्ने पाठ
नेपालभन्दा मानवीय सूचकाङ्कले धेरै माथि रहेको श्रीलङ्का कसरी एकाएक टाट पल्टियो ? नेपाल जस्तो अस्थिर राजनीति, कमजोर बैदेसिक नीति भएको विकासोन्मुख देशलाई महत्वपूर्ण सन्देश दिएको छ । वि.सं. २०४६ सालको परिवर्तनपछि यताका ३३ वर्षसम्म पनि नेपाली राजनीतिले स्थिरता पाउन सकेको छैन । औद्योगिक उत्पादन कमजोर छ । कृषिमा परनिर्भरता बढ्दै छ । पर्यटन उद्योग तङ्ग्रिन सकेको छैन ।
पछिल्लो ५ वर्षमा ऋणको भार दोब्बरले वृद्धि भएको छ । २०७४–७५ मा ९ खर्ब १७ अरब रहेको ऋण २०७८–७९ जेठसम्म आइपुग्दा १८ खर्ब ४८ अरब हुन आएको छ । बर्सेनि कुल आम्दानीभन्दा खर्च बढी हुँदै जाने स्थितिले गर्दा ऋणभार वर्षेनी बढ्दै गएको छ ।
आम्दानीको ठुलो स्रोत राजस्व हो । यो बढी आयातमा निर्भर छ । यही खराब आम्दानीले गर्दा देशले बर्सेनि व्यापारघाटा बेहोर्दै छ । गत आ.व. २०७७–७८ मा व्यापारघाटा १३ खर्ब ९८ अर्ब पुगेको थियो । यो अघिल्लो वर्षको तुलनामा २७–२६ प्रतिशतले बढी हो ।
व्यापारघाटाको प्रभाव विदेशी मुद्राको सञ्चितिमा पर्नु स्वाभाविक हो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कानुसार २०७८ असार मसान्तसम्म सञ्चिति अमेरिकी डलरमा ११ खर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तसम्ममा १९.६ प्रतिशतले कमी आई ९ अर्ब ४५ करोड कायम भएको छ ।
विदेशी श्रम बजारमा गएर नेपाली कामदारले पठाउने रेमिट्यान्स (विप्रेषण) ले नेपालको कुल गार्हस्थ्य उत्पादनको २५ प्रतिशतभन्दा बढी भार थेगेको छ । यसले देशको गरिबी न्यूनीकरणमा धेरै मदत गरेको छ तर देशको अर्थतन्त्र बढी यसैमा भर पर्नु धेरै जोखिम हुन सक्छ । देश विप्रेषण आम्दानीमा अझै पनि अत्यधिक निर्भर भइरहँदा अन्य क्षेत्र विकास हुन नसकेको कतिपय अर्थविद्हरूले चेतावनी दिँदै आएका छन् । विगतमा कोभिड महामारीका कारण केही महिनामै समष्टिगत अर्थतन्त्रका महत्वपूर्ण सूचकहरू धर्मराउन थालिसकेका घटनाले यो कति जोखिम छ भन्ने प्रष्ट्याइसकेको छ । त्यसैले एउटै क्षेत्रमा अत्यधिक निर्भरता रहँदा कालान्तरमा त्यसले अर्थतन्त्रमा नराम्रो असर पार्न सक्छ ।
माथिका केही विवरणले देश अर्थतन्त्रमा परनिर्भर छ भन्ने स्पष्ट छ । देशको अर्थतन्त्र यो अवस्थामा रहँदा पनि हाम्रो देशको राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र पूरै भ्रष्ट र कमिसनखोरले बद्नाम छ । देशको शासन सञ्चालनका तीनओटै महत्वपूर्ण अंश व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाप्रतिको जनविश्वास टुट्दै गएको छ । एक प्रकारले गणतन्त्रप्रति नै प्रहार भइरहेको छ । छिमेकी देश श्रीलङ्काको घटनाबाट हाम्रो देशको सत्तासिन नेतृत्वले समयमै पाठ नसिक्ने हो भने भ्रष्ट नेताहरूले त श्रीलङ्काको नियति भोग्ने नै छन् भने जनताले लामो समयदेखि वलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त गरेको गणतन्त्रको भविष्य पनि अनिश्चित हुने छ । यो स्थिति आउन नदिन सत्तासिन नेतृत्व सच्चिन जरुरी छ र जनता जागरुक हुन आवश्यक छ ।
(विवरण विभिन्न अनलाइन पत्रिकाको स्रोतबाट लिइएको छ ।)