काठमाडौं । विभिन्न माग राखी आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानीकर्ता व्यवसायीहरूले आगामी असोज १ गतेदेखि ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले मंगलबार विज्ञप्ति प्रकाशित गरी देशभरका पेट्रोलियम डिपोहरुमा लोड अनलोड नगर्ने चेतावनी दिएको हो ।
गत भदौ २४ बाट राज्यभरका सम्पूर्ण ढुवानी व्यवसायीहरुले भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पीडीओ नलिने निर्णय माग पुरा नभएसम्म निरन्तर कायम राख्ने जनाएका छन् ।
यस्तै, महासंघले भदौ २९ गतेबाट अमलेखगंज डिपोबाट अन्यन्त्र डिपोमा जाने पेट्रोलियम पदाथ लोडिङ नगर्ने जनाएको छ ।
साथै, व्यवसायीहरुले ढुवानी ठप्प पारेको अवस्थामा निगमले सञ्चालन खर्च व्यहोरी सञ्चालन गर्न चाहेमा टेंकर उपलब्ध गराउने महासंघको भनाई छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनलाई बोधार्थ दिइएको सो पत्रमा असोज २ गतेदेखि आन्दोलनका थप कार्यक्रम गर्ने जनाइएको छ ।
