काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सुले तातोपानी नाका र रसुवागढी नाका दशैँअघि नै खुलाउने प्रतिवद्धता जाहेर गरेका छन् ।
मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासँग संघीय संसद भवनमा भएको भेटवार्ताका क्रममा नेता ली ले सो प्रतिवद्धता जाहेर गरेका हुनन् ।
अध्यक्ष तिमल्सिनाको आग्रहमा नेता लीले छिट्टै खुलाउन पहल गर्ने प्रतिबद्धता जनाएको तिमल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिए।
नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
त्यस्तै, बीआरआई लगायतका बुहपक्षीय साझेदारी र संसदीय साझेदारीमा जोड दिइएको उनले बताए । साथै, कोभिडका कारण चीन फर्किएका कामदार छिटो फर्काउन र चीनद्वारा सञ्चालित योजनाहरुलाई गति दिन आग्रह गरिएको उनले जानकारी दिए।
ओली र प्रचण्डसँग भेटवार्ता
तिमल्सिनासँगको भेटपछि लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । संघीय संसद नयाँबानेश्वरमा भेट भएको हो । मंगलबार बिहान १० बजे उनीहरुबीच भेट भएको थियो ।
ओलीलाई भेटेलगत्तै संघीय संसद भवनमा नेता ली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका ली मंगलबार बिहानैबाट विभिन्न उच्चस्तरीय राजनीतिक भेटघाटमा ब्यस्त छन्।
लीले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेट गर्ने कार्यसूची छ।
