काठमाडौं । पाँचदलीय गठबन्धन सिट बाँडफाँट कार्यदलले सिट संख्या टुंग्याउन नसकेपछि अब शीर्ष तहमा छलफल हुने भएको छ ।
सिट बाँडफाँट गर्न बनेको कार्यदलले बिहीबार (२३ भदौ) मा अपुरो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएको छ । सो बारे छलफल गर्न पाँच दलका शीर्ष नेताहरुको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँटका लागि सहमतिको खाका बनाउन कार्यदलको बैठक भने आज पनि जारी छ । तर, कार्यदलले हिजै अपुरो प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको हो ।
कार्यदलमा निर्वाचन क्षेत्रबारे कुरा मिल्न नसकेपछि शीर्ष नेताहरुसहित कार्यदलको बैठक बसेर सिट बाँडफाँट गर्ने तयारी रहेको कार्यदलका एक सदस्यले बताए ।
कार्यदलले ठोस सहमति जुटाउन नसकेको विषयलाई शीर्ष नेताहरु बसेर सहमति गराउने अन्तिम प्रयास गरिने बताइएको छ।
कार्यदलले प्रतिनिधि सभा १ सय ६५ र प्रदेश सभातर्फका ३ सय ३० निर्वाचन क्षेत्रमा मोटामोटी सहमति जुटाएर प्रतिवेदन बुझाएको कार्यदल सदस्य बताउँछन् ।
आज बस्ने शीर्ष नेताहरुले सिट बाँडफाँटको विषय टुंगोमा पुर्याउने बताए पनि त्यसको सम्भावना भने ज्यादै कम देखिन्छ ।