नवलपरासी । राष्ट्रिय जनमोर्चा नवलपरासीले देशको समसामयिक विषय ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं’ भने विषयमा अन्तरकृया कार्यक्रम गरेको छ । अनेरास्वियु (छैठौं) का महासचिव महेशराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चासहित विभिन्न राजनीतिक दल तथा जनवर्गीय संंगठनका प्रतिनिधिहरुले आफ्नो धारणा राखेका थिए ।
शुक्रबार सम्पन्न सो कार्यक्रममा महासचिव जोशीले देशको राष्ट्रियता अत्यन्त कमजोर भएर गएको बताउनुभयो । गणतन्त्र र धर्म निरपेक्षता एक अर्कासँग जोडिएको बताउँदै जोशीले हिन्दु धर्मको पुनर्वहालीका नाममा राजतन्त्र फर्काउने षडयन्त्र भइरहेको बताउनुभयो ।
छलफलमा उठेका विषयबारे स्पष्टकरण दिँदै उहाँले संघीयताका कारण मुलुकको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा भएको भन्दै त्यसलाई खारेज गरेरै छाड्ने प्रतिवद्धता पनि व्यक्ता गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता कृष्ण पौडेलले विशिष्ट अतिथिको आशनबाट सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाले देशको सीमा रक्षाका लागि देशब्यापी अभियान चालेको बताउनुभयो । उहाँले कालापानी लगायत अतिक्रामित भूमि फर्काउन सरकारको पहलकदमी नदेखिएको भन्दै तत्काल कुटनीतिक कहल गर्न आग्रह गर्नुभयो ।
राजमो नवलपरासीका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा नेकपाका नेता रमेश बस्याल, नेकपा(मसाल) काजिल्ला प्रवक्ता धनपति सापकोटा, नेकपा (क्रान्तिकारी माओवादी) का नेता रामचन्द्र पोखरेल, नेकपा (माले) का जिल्ला सचिव भरत पाण्डे, समाजसेवी जनक रावत लगायत नेताहरुले आफ्नो धारणा राख्नुभएको थियो ।
राजमो नेता तिलक सुवेदीले अवधारणा पत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाले स्वागत मन्तव्य राख्नुभएको थियो ।