काठमाडौं । मलेसियामा मृत्युदण्डको सजाय पाएका एक नेपाली मृत्युदण्ड हुनबाट जोगिएका छन् । वैदेशिक रोजगारीको लागि मलेसिया गएका धनुषाको गोविन्दपुरका सुरजदेव साह तेलीलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय परिवर्तन गरेको हो ।
अब उनलाई १२ वर्ष कैद तोकिएको छ । ६ वर्ष जल सजाय भोगिसकेका तेली अब ६ वर्षमा नेपाल फर्कनेछन् ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार रोजगारीका लागि मलेसिया पुगेका तेली कर्तव्य ज्यानको कसुरमा दोषी ठहर भएका थिए । लरि चालकको हत्या गरेको अभियोगमा उनलाई उच्च अदालतले मृत्युदण्ड सुनाएको थियो । ३८ वर्षीय सुरज त्यहाँको कृषि क्षेत्रमा कार्यरत थिए।
सन् २०१६ डिसेम्बरमा उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो। ईपो उच्च अदालतले २०२० अगष्टमा मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो।
मृत्युदण्डको फैसलाविरुद्ध उनको तर्फबाट पुनरावेदन गरिएको थियो । पुत्रजयास्थित पुनरावेदन अदालतले आज बिहीबार १२ वर्ष कैदको सजाय कायम गरेको हो ।


