काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनेज पाँडे पाँच दिने नेपाल भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् ।
भारतीय सेनाका सेनापति पाँडे तथा श्रीमती अर्चनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरे ।
प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपाल आएका पाँडेलेयही भदौ २० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गरेका थिए । नेपाल र भारतका सेनाध्यक्षहरुलाई एक अर्का देशको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने परम्परा छ ।
सोही दिन जनरल पाँडेको सम्मानमा सेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा रात्रीभोज आयोजना गरे ।
भ्रमणकै दौरान, जङ्गी अड्डामा प्रधान सेनापति शर्मा र भारतीय स्थल सेनाध्यक्ष पाँडेबीच औपचारिक भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा दुई देशको आपसी सुरक्षा चासोका विषयहरुमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
भारतीय स्थल सेनाध्यक्ष जनरल पाँडेले आफ्नो भ्रमणको दौरान सम्माननीय प्रधानमन्त्री एवं रक्षामन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । साथै, उनी जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सरिक भए भने शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेड क्वाटरको समेत भ्रमण गरेका थिए ।
यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।