काठमाडौँ । साक्षरता सिकाइ क्षेत्रमा रूपान्तरण भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय साक्षरता दिवस–२०७९ विविध कार्यक्रमसहित मनाइएको छ ।
सेप्टम्बर ८ गतेका दिन विश्वभरि सो दिवस मनाउँदै आइएकोमा सामुदायिक सिकाइ केन्द्रले २०७९ भदौ २२ गते आधारशीला कलेजको प्राङ्गणमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै शिक्षा तथा मानव श्रोतविकास केन्द्रका उपमहानिर्देशक श्रीप्रसाद भट्टराईले अबको सन्दर्भमा पढ्न, लेख्न मात्र साक्षर नभएर आफ्नो अधिकार, स्वाभिमान, सिप तथा सिपसँग श्रम र उत्पादनलाई जोड्न सक्नु नै साक्षर भएको बताउनुभयो ।
उहाँले अगाडि सिक्नलाई उमेरले नछेक्ने बताउँदै आफू मात्रै सिक्ने होइन, आफ्नो परिवार, समुदायलगायत सबैलाई साक्षर बनाउन आवश्यक भएको बताउनुभयो । यदि इच्छाशक्ति हरायो भने हिजोका साक्षर आज निरक्षरसमेत हुन सक्ने बताउँदै उहाँले सिक्ने कुरालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष विष्णुहरि देवकोटाको अध्यक्षता तथा डा. कौशिला रिसालको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा धनकुमारी न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा युनेस्को काठमाडौँका डा. ध्रुव रेग्मी, शिक्षा तथा मानव श्रोतविकास केन्द्रका बैकुण्ठ आचार्य, इआरडिसिएनबाट बाबुराम विश्वकर्मा, सिएलसी गोर्खाबाट विशेश्वर कट्टेललगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा आधारशीला कलेजका क्याम्पस प्रमुख राजेन्द्र ढकाल, प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष समीर सिंह, आधारशीला कलेजका कोओर्डिनेटर सुगीता शाहलगायतको आतिथ्य रहेको थियो ।
