काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ । मिश्रले आइतबार साँझ बालकोट पुगेर ओलीसँग साढे दुई घण्टा कुराकानी गरेको फेसबुकमार्फत बताउनुभएको छ ।
भेटवार्ताका क्रममा ओलीले मिश्रलाई नेपालको चुच्चे नक्सा छापिएको एक मुठी सिक्का दिएको मिश्रले जानकारी दिनुभएको छ । ओलीले चुच्चे नक्सा पारित गर्नुपूर्वका जटिलताबारे बताएको पनि मिश्रले फेसबुकमाफर्त जनाउनुभएको छ ।
‘ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो। आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नुपूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो’ मिश्रले भन्नुभयो ।
मिश्रले ओलीको लगन अनौठो भएको उल्ल्ेख गर्दै राति सुत्नुअघि नियमित पढ्ने गरेको बताउनुभएको छ । अन्त्यमा ओलीले राजनीतिक मैदानमा छलछाम, घम्साघम्सी हुन्छ भन्दै नआत्तिन ढाडस दिएको पनि मिश्रले बताउनुभएको छ ।
मिश्रले लेख्नुभएको छ– सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।”