काठमाडौँ । आधारशिला कलेज नयाँबजारको आयोजनामा तिजगीत प्रतियोगिता सम्पन्न भएको छ ।
गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाको प्रमुख आतिथ्य तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनको विशिष्ट आतिथ्यमा सो कार्यक्रम २०७९ भदौ ११ गते सम्पन्न भएको हो ।
२० समूहले भाग लिएको उक्त कार्यक्रममा सूर्योदय महिला समूह रानीबन प्रथम, जागृति नारी समूह नयाँबजार द्वितीय र बालविकास महिला समूह तृतीय स्थानमा विजयी भएका थिए । त्यस्तै, धनकुञ्ज वचत ऋण सहकारी संस्था नयाँबजारलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ नमुना शर्मा, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका उपाध्यक्ष दीपक खड्का र लोकगायिका हरिमाया गुरुङसहितको निर्णायक मण्डलले प्रतियोगिताको मूल्याङ्कन गरेको थियो ।
विजयीहरूमध्ये प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई पाँच हजार र सान्त्वना पुरस्कारस्वरूप तीन हजार रुपियाँ प्रदान गरिएको थियो ।
कार्यक्रममा कलेजका डा. चूडा ढकाल, डा. रामचन्द्र पोख्रेल, नमूना प्रकाशन गृहका अध्यक्ष रमेश पौडेल, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष हेमराज आश्रम, राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, युगदर्शन साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश थापामगरलगायतका अतिथिको आतिथ्य रहेको थियो ।
कलेजका अध्यक्ष भोलानाथ ढकालको अध्यक्षता तथा समीर सिंह र सुगीता शाहको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो ।
कार्यक्रममा उपस्थित जनसमुदायलाई तिलैया पाठकले शब्दबाट र कक्षा १२ का विद्यार्थीहरूले नृत्यमार्फत् स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा रक्तिमका उपाध्यक्ष हेमराज आश्रम, लोक कलाकार जमुना आचार्य, समुद्र केसी, लक्ष्मी थापामगरलगायत बाट गीत र नृत्य प्रस्तुत गरिएको थियो ।
