बुटवल । बुटवलमा १ हजार जना अट्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको छ । सो सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।
रामनगरस्थित बुटवल मण्डपको कुल १६ बिघा जग्गा मध्ये ९ बिघा जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको हो । सम्मेलन केन्द्रको मुख्य हल १ हजार सिट क्षमताको छ । जसमा तल ६ सय र बालकोनी ४ सय सिट क्षमता छ ।
त्यसबाहेक मिटिङ हल, गोष्ठी, सेमिनारको लागि अन्य १२ वटा विभिन्न प्रकारका हल रहेका छन् । मुख्य हल सहित सबै हलको कूल क्षमता २७ सय सिट क्षमताको छ ।
दुई चरणमा गरेर १ अर्ब ११ करोडको लागतमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले जानकारी दिनुभयो । सम्मेलन केन्द्रका लागि ५ वटा प्रवेशद्वार रहेका छन्।
सम्मेलन केन्द्रको प्राङ्गणमा ४ सय वटा चार चक्के गाडी र ४ सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने आयोजना प्रमुख पन्थीले बताउनुभयो । त्यसै गरि एउटा हेलिप्याड पनि रहेको छ । सम्मेलन केन्द्र परिसरमा ४ वटा सन्ध्याकालिन पोखरी छन् । त्यस मध्ये दुई वटा फाउन्टेन छन् ।
सभाहल निर्माणको लागि दुई चरणमा काम सक्ने गरि २०७१ सालमा ठेक्का सम्झौता भएको हो। तर रुख कटान, नाकाबन्दी लगायतका कारण ढिला गरी काम सकिएको पन्थीले बताउनुभयाे ।
सम्मेलन केन्द्रलाई नेपालको झण्डाको आकारमा बनाइएको छ । अग्लो ठाउँ अर्थात हेलिकप्टरबाट हेर्दा चन्द्र सूर्यसहित नेपालको झण्डाको आकार देख्न सकिन्छ ।
हल तयार भएपछि सार्क, बिमस्टेक जस्ता अन्तर्राष्ट्रिय सभा सम्मेलन गोष्ठी आयोजना गर्न सकिने छ ।
बुटवल मण्डपको १६ बिघा क्षेत्रमा रहेको बुटवल मण्डपको ९ बिघाहमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको हो भने बाँकीमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ।