काठमाडौं । जंगी अड्डामा सञ्चालन भएको दुई दिवसीय ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९’शुक्रबार सम्पन्न भएको छ ।
राष्ट्रिय, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय परिवेशको गहन समिक्षा गरी उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरु माथि सुक्ष्म विश्लेषण सहित शुरु भएको उक्त बैठकमा चारवटै कमाण्डका कमाण्ड सेनापति, जङ्गी अड्डाका विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयहरुबाट विगतको कार्यको समिक्षा तथा वर्तमान गतिविधिहरु समेटी प्रस्तुतीकरण भएको नेपाली सेनाले जनाएको छ ।
समापन मन्तव्य राख्दै प्रधान सेनापति प्रभुराम शर्माले यथार्थपरक छलफलमा केन्द्रित रहेको उक्त समन्वयात्मक बैठक फलदायी रहेको विश्वास व्यक्त गर्दै नेपाली सेनाले सामुहिक स्वामित्व र सामुहिक निर्णयलाई निरन्तरता दिने बताउनु भयो ।

सो क्रममा प्रधानसेनापति शर्माले, चारवटै कमाण्डका कमाण्ड सेनापतिहरुलाई आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरी नेपाल सरकारबाट प्राप्त हुन सक्ने जस्तोसुकै जिम्मेवारी वहन गर्न तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।
साथै आफ्नो जिम्मेवारी क्षेत्रभित्र हुन सक्ने सुरक्षा चुनौतीहरुलाई सुक्ष्म अध्ययन तथा विश्लेषण गरी सोही अनुसार अन्य सुरक्षा निकायसँगको सहकार्य र सूचना प्रवाहलाई जोड दिँदै नेपाली सेनाले निर्वाह गर्नुपर्ने सम्भावित भूमिकाको लागि तयारी हालतमा रहन तथा निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य उत्कृष्ट ढंगले सम्पन्न गर्न निर्देशन दिनु भएको थियो ।
बैठकमा रक्षा सचिव, जङ्गी अड्डाका पीएसओ रथीबृन्द, चारवटै कमाण्डका कमाण्ड सेनापतिहरु, विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुखहरु तथा उपत्यका भित्र रहेका बाहिनीपतिहरु सहभागी थिए।
सहभागी कमाण्ड तथा विभाग प्रमुखहरुले आ आफ्नो जिम्मेवारी र क्षेत्रको वर्तमान अवस्थाको बारेमा जानकारी गराउनुका साथै सुझाव दिएका थिए ।