काठमाडौं । बिहीबार बिहान खण्डग्रास सुर्यग्रहण लाग्दैछ । काठमाडौं उपत्यकामा बिहान ८ बजेर ४३ मिनेटबाट सूर्यग्रहण हुनेछ । सो ग्रहण ११ बजेर ३३ मिनेटमा सकिनेछ।
नेपालको पश्चिमतर्फ महेन्द्रनगरमा ८ बजेर ३८ मिनेट र पूर्वको भद्रपुरमा ८ बजेर ४८ मिनेटमा ग्रहण शुरु हुनेछ । काठमाडौंमा १० बजेर १ मिनेटमा अधिकतम रुप लिँदा केहि अध्याँरो र तापक्रम पनि घट्नेछ ।
यो ग्रहणलाई सुरक्षित रुपमा मात्रै हेर्न विज्ञहरुले आग्रह गरेका छन् । सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर हेर्न नहुने उनीहरुको सुझाव छ । नांगो आँखाले सुरक्षाको उपाय नअपनाई अवलोकन गरेमा आँखा पुरै विग्रने वा दीर्घकालिन असर पर्ने उनीरुले चेतावनी दिएका छन् ।
त्यसैगरी एक्सरे प्लेट, ध्वाँसो लगाएको ऐना वा पानीको प्रतिबिम्बमा समेत नहेर्न आग्रह गरेका छन् । हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्मा वा वेल्डिङ गर्दा प्रयोग गरिने चश्माबाट अवलोकन गर्नु सुरक्षित हुने उनीहरुको धारणा छ ।
सूर्य ग्रहणको सुरक्षित अवलोकनका लागि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा तयारी भएको छ । कीर्तिपुरस्थित विपी कोइराला प्लानेटोरियम एन्ड अब्जरभेट्रीको कार्यालय, नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को बत्तिसपुतलीस्थित कार्यालय, प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस, बसुन्धरास्थित तक्षशिला स्कुल लगायत स्थानमा सुरक्षित रुपमा सूर्यग्रहण देखाउने कार्यक्रम तय गरिएको छ ।
बिहीबार बिहान लाग्ने सूर्यग्रहण मध्यपूर्वका कतिपय देश, दक्षिण भारत, इण्डोनेसियाबाट देखिनेछ । साउदी अरबबाट शुरु भएर कतार, यूएइ, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बंगालको खाडी, मलेसिया, इण्डोनेसिया, सिंगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुनेछ ।