खलङ्गा । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधीको प्रयोग र आहाराको अभावमा पछिल्लो समय गिद्ध लोप हुँदै गएका हुन् ।
प्रकृतिको कुचिकारका रुपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढ्दै गएको हो ।
विशेषगरी गिद्धको बासस्थान सिमलको रुख भएकाले पछिल्लो समय बढ्दो वनविनाशका कारण सिमलका रुख हराउँदै गएपछि गिद्धको बासस्थान पनि हराउँदै गएको जिल्ला डिभिजन वन कार्यालयका प्रमुख प्रमानन्द कँुवरले बताउनुभयो ।
ठुल्ठुला भिरमा समेत गिद्ध पाइने भए पनि पछिल्लो समयमा गिद्ध देखिन छोडेको शैल्यशिखर नगरपालिकाका वीरसिंह धामी बताउनुहुन्छ ।
उहाँले भन्नुभयो– ‘गिद्ध संरक्षणका लागि सरकारी तथा स्थानीय स्तरबाट कुनै पहल हुन सकेको छैन । गिद्ध संरक्षणका लागि पहल नहुँदा लोप हुँदै गएका छन् ।’
गिद्धको आहारामा समेत समस्या आएकाले गिद्ध लोप हुँदै गएको जानकार बताउँछन् । मरेका पशुपक्षीको सिनोलाई आहाराका रुपमा गिद्धले प्रयोग गर्ने गर्दछन् । पछिल्लो समयमा बाहिर सिनो फाल्ने चलन पनि कम हुँदै गएका कारण पनि गिद्ध लोप हुन लागेका हुन् ।
आहारको अभावमा गिद्ध लोपहुँदै गएको पनेबाज सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दामोदरसिंह धामीको भनाइ छ । पशुमा प्रयोग गरिने डाइक्लोफेनिक औषधीले पनि गिद्ध लोप हुन थालेको जानकार बताउँछन् । पशुलाई दिइने यो औषधीको प्रयोगले गिद्धको विनाशमा ठुलो भूमिका खेलेको पशु प्राविधिक गोपालसिंह धामी बताउनुहुन्छ । डाइक्लोफेनक औषधी प्रयोग भएको पशुको सिनो खाएमा गिद्ध मर्ने गरेको उहाँले बताउनुभयो ।
नेपालमा डाइक्लोफेनिक औषधीको बिक्री वितरणमा रोक लगाइएको भए पनि दार्चुलाको भारतसँगको खुला सिमानाबाट यस्तो औषधी भित्रिने गरेको छ ।
अहिले विश्वभर २३ प्रजातिका गिद्ध पाइन्छन् । त्यसमध्ये दक्षिण एसियामा नौ र नेपालमा आठ प्रजातिका गिद्ध पाइन्छन् । नेपालमा पाइने आठ प्रजातिका गिद्धमा सानो खैरो, डङ्गर, सुन, गोब्रे, राज, हिमाली, खैरो र हाडफोर रहेका छन् । (रासस)