काठमाडौँ । तिज पर्वले समाजलाई सकारात्मक सन्देश दिन सकोस् भन्ने अभिप्रायका साथ तिजमेला तथा तिजगीत प्रतियोगिता हुने भएको छ ।
नेपाली संस्कृति तथा मौलिक पर्व हाम्रो चिनारी, सभ्य समाज निर्माणमा हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ भाद्र ११ गते शनिबार बिहान ११ बजेबाट आधारशीला कलेज, नयाँ बजारमा सो प्रतियोगिता सम्पन्न हुन गइरहेको हो ।
कार्यक्रमको व्यापक रूपमा प्रचार प्रसार भइरहेको बताउँदै कलेजका अध्यक्ष भोलानाथ ढकालले समय र परिवेशअनुसार संस्कृति र परम्परा परिमार्जित हुनुपर्ने बताउनुभयो । तिजका गीतलाई रूढिवाद र अन्धविश्वास तथा छाडा संस्कृतिबाट मुक्त गराउनपर्ने आवश्यकता भएको उहाँको तर्क थियो ।
‘नारी सहनशील हुन्छन् र उनीहरूले अरूको आनन्द र रमाइलोका लागि आफ्नो खुसीको बलिदानी दिनुपर्दछ’ भन्ने परम्परागत सोच बदल्नुपर्ने उहाँको धारणा थियो ।
आधारशीला कलेज समाजकार्य समूहले आयोजना गर्ने सो खुला तिजीगीत प्रतियोगिताका लागि उपत्यकाका विभिन्न सङ्घ, संस्था, क्लब, स्कुल र कलेजबाट प्रतिस्पर्धीले नाम दर्ता गराइरहेको जानकारी हुन आएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार १५०००, दोश्रो पुरस्कार १०,०००, तेस्रो पुरस्कार ५,००० तथा सान्त्वना पुरस्कार ३,००० रहेको छ ।
रूढिवाद, अन्धविश्वास र छाडा संस्कृतिलाई प्रोत्साहन गर्ने गीतलाई मान्यता नदिइने आयोजकबाट जानकारी गराइएको छ । कुनै सामाजिक सन्जालबाट नक्कल नगरी गीत मौलिक प्रकारको हुनुपर्ने तथा प्रतियोगीले भाद्र १० गतेसम्म आफ्नो नाम दर्ता गराइसक्नुपर्ने आयोजक संस्थाले सूचना जारी गरेको छ ।

