रामप्रकाश पुरी
विषय प्रवेश
सन् १९४९ मा चीनमा एक महान् क्रान्ति सम्पन्न भएको थियो । त्यो क्रान्तिले चीनलाई नयाँ ढाँचामा रूपान्तरण गरेको थियो र विश्व कम्युनिस्ट आन्दोलनमा क्रान्तिको एक नयाँ धारणा पनि अगाडि आएको थियो । चीनको जनवादी क्रान्ति हुनुभन्दा अगाडि राष्ट्रिय पुँजीपति वर्ग, किसानवर्गका विभिन्न तह र अन्य निम्न पुँजीवादी वर्गहरूको भूमिकाबारे ठोस सिद्धान्त बनेको थिएन । उनीहरूको क्रान्तितर्फ हुने योगदान र प्रतिक्रियावादी राज्यसत्तातर्फ हुने झुकावका बारेमा स्पष्ट औँल्याउने सिद्धान्तको अभावमा क्रान्तिको नयाँ आयाम अन्यौलमा रहेको थियो । दुनियाँमा समाजवादी क्रान्ति भएर समाजवादी सत्ता शक्तिशाली भएर चलिरहेको भए पनि तेश्रो विश्वका मुलुकमा क्रान्तिसम्बन्धी ठोस कार्ययोजना बन्न सकेको थिएन ।
सर्वहारा वर्गको विकास हुँदासम्म समाजवादी क्रान्तिको तयारीको लागि काम गर्नुपर्दछ वा त्यो भन्दा पहिले आम रूपमा सर्वहारा वर्गको विकास नहुँदै पनि सर्वहारा वर्गको प्रतिनिधि संस्था कम्युनिस्ट पार्टीले कुनै क्रान्तिको नेतृत्व गर्न सक्दछ ? भन्ने प्रश्नको उत्तर चीनको क्रान्तिले दिएको थियो । विभिन्न सामाजिक वर्गको क्रान्तिमा हुने भूमिका सहित माक्र्सवाद–लेनिनवादको सृजनात्मक विकासको दौरानमा क्रान्तिको नयाँ अवधारणा अगाडि आएको थियो । त्यही अवधारणा क्रान्तिको एउटा महत्वपूर्ण सिद्धान्त बन्न पुग्यो । त्यो सिद्धान्त नै माओ विचारधारा हो । क्रान्तिको एक नयाँ आयाम भएकाले चीनको जनवादी क्रान्तिमा अपनाइएका सैद्धान्तिक मूल्य र व्यावहारिक तरिका संसारका लागि महत्वपूर्ण घटनाका साथै विचारधाराको रूपमा अगाडि आएको थियो ।
वर्गविश्लेषणमा ऐतिहासिक योगदान
चीनमा जनवादी क्रान्तिका लागि माओले चिनियाँ समाजको विश्लेषण गरे । १९२६ मा “चिनियाँ समाजमा वर्गहरूको विश्लेषण” नामक लेखमा माओले जनवादी क्रान्तिका मित्रशक्ति र दुश्मनशक्तिको कित्तालाई छुट्टाउने काम गरे । त्यो बेला चीन अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकको रूपमा रहेको थियो । जापानी साम्राज्यवादले चीनमाथि ठुलो उत्पीडन गरिरहेको थियो । तत्कालीन चिनियाँ शासकहरू जापानी साम्राज्यवादका कठपुतली भएर चीनका जनतामाथि शासन गर्दथे । यसरी एकातिर, चीनको सार्वभौमिकता जापानी साम्राज्यवादको दयामा निर्भर रहेको थियो भने जापानी साम्राज्यवादका पिठ्ठुका रूपमा रहेको चीनको शासनव्यवस्थाबाट जनता उत्पीडनमा परेका थिए । यो परिस्थितिमा चिनियाँ जनताको अगाडि क्रान्तिको विकल्पबाहेक अर्को कुनै मार्ग पनि थिएन । क्रान्तिको त्यो परिस्थिति तयार भएको भए पनि क्रान्तिकारी शक्तिबिना पनि क्रान्ति हुने सम्भावना पनि थिएन ।
त्यसैले माओले यो लेख लेखिरहँदा क्रान्तिको आत्मगत तथा वस्तुगत परिस्थितिको वातावरण बन्न सकेको थिएन । तैपनि माओको नेतृत्वमा चीनको समाजलाई क्रान्तिको मार्गमा लैजानका लागि भएका विभिन्न प्रयत्नस्वरूप चीनका सामाजिक वर्गको विश्लेषण एउटा सैद्धान्तिक मूल्यको रूपमा अगाडि आएको थियो । त्यो समयमा चीनको कम्युनिस्ट पार्टीको इतिहासको पहिलो दशक चलिरहेको थियो, तर पनि १९११ मा भएको क्रान्ति र त्यसले ल्याएको परिवर्तनका कारण गणतान्त्रिक चेतना भने माथि उठेको अवस्था थियो । त्यसैले चीनको कम्युनिस्ट पार्टीभित्र राजतन्त्रवादी विचारधारा थिएनन् तर बुर्जुवा प्रजातान्त्रिक व्यवस्थाप्रतिको झुकाव र अतिक्रान्तिकारी प्रवृत्ति भने क्रान्तिकारीका लागि चुनौतीका विषय बनेका थिए । पहिलो प्रवृत्ति थियो– पार्टीको संस्थापक महासचिव छन्तुस्युद्वारा नेतृत्व गरिएको दक्षिणपन्थी अवसरवादी लाइन । यो लाइनले क्रान्तिकारी परिवर्तनप्रति कुनै ध्यान राख्दैन्थ्यो ।
त्यसकारण किसान र मजदुर वर्गलाई बेवास्ता गर्दथ्यो । त्यसको मुख्य ध्यान तत्कालीन सत्तासिन शक्ति कोमिन्ताङसित मेलमिलाप गर्नेतर्फ नै थियो । सत्ताधारी कोमिन्ताङसित मेलमिलाप गरी सत्तामा हैसियत खोज्ने प्रकारले छन्तुस्युको नेतृत्वले काम गरिरहेको थियो । त्यस प्रकारको परिस्थितिमा क्रान्तिको भविष्य त अन्यौलमा पर्दथ्यो नै, नामधारी कम्युनिस्ट पार्टीबाट क्रान्तिका लागि कुनै काम हुने सम्भावना थिएन । त्यसगरी दोश्रो प्रवृत्ति थियो, चाङकुआताओद्वारा नेतृत्व गरिएको वामपन्थी अवसरवादको लाइन । यो लाइनअनुसार चीनमा ठुलो हिस्सामा रहेको किसानवर्ग उपेक्षित हुन्थ्यो । किसानवर्गको क्रान्तिको भूमिकासम्बन्धी वामपन्थी अवसरवादी बेखबर थिए । उनीहरूले मजदुर वर्गलाई त ध्यानमा राख्दथे, तर मजदुर वर्गको विकास नभएको अवस्थामा क्रान्तिको कामलाई अगाडि बढाउन के गर्नुपर्दछ र किसानवर्गको शक्तिको राज के हो भन्ने कुरालाई उनीहरूले बुझ्न सकेनन् ।
पार्टीभित्रको यो परिस्थितिमा का. माओले विचारधारात्मक सङ्घर्षको रूपमा चिनियाँ समाजमा वर्गको विश्लेषण गर्दै किसानवर्ग र अन्य निम्न पुँजीवादी वर्गको क्रान्तिमा हुने योगदान र भूमिकाबारे प्रष्ट गरेका थिए । लेखको प्रारम्भमा नै लेखिएको छ: “हाम्रा शत्रु को हुन् ? हाम्रा मित्र को हुन् ? यो क्रान्तिको लागि प्राथमिक महत्वको सवाल हो” (माओ :१) । माओले यो कुरा गरिसकेपछि क्रान्तिकारी सङ्घर्षमा अपेक्षित उपलब्धि हासिल नहुनाको कारणलाई औँल्याएका छन् । उनले प्रधान शत्रुका विरुद्ध गरिने सङ्घर्षमा गौण शत्रुलाई मित्रशक्तिमा सामेल गर्नुपर्ने आवश्यकतालाई पनि औँल्याए । त्यसरी चीनको समाजमा क्रान्तिको चरित्र सामन्तवाद र साम्राज्यवादबाट मुक्ति पाउनका लागि राष्ट्रिय पुँजीपति वर्गदेखि क्रान्तिका आधारभूत वर्ग किसानवर्ग र नेतृत्वकर्ता मजदुर वर्गको संयुक्त पहलकदमीको साझा शक्तिको आवश्यकता भएको कुरा का. माओले प्रष्ट पारे ।
यो धारणा क्रान्तिको इतिहासमा नितान्त नयाँ धारणा थियो, यो यसकारणले नयाँ बन्न गएको थियो कि चीनमा पुँजीवादी क्रान्तिको आवश्यकता थियो र त्यो क्रान्ति सम्पन्न गर्ने पुँजीपति वर्गको राष्ट्रिय चरित्र थिएन । त्यो वर्ग दलाल पुँजीपति वर्गमा परिणत भइसकेकाले पुँजीवादी क्रान्तिको नेतृत्व गर्ने जिम्मा कम्युनिस्टको काँधमा रहेको कुरा प्रष्ट पार्दै का. माओले त्यस प्रकारको क्रान्तिका मित्रशक्तिको प्रवृत्ति, विशेषता र शक्तिको समेत विश्लेषण गरे । प्रधान दुश्मनशक्तिलाई प्रहार गर्नका लागि गौण दुश्मनको महत्व र आवश्यकतालाई पनि उनले यस लेखमा एक महत्वपूर्ण धारणाको रूपमा अगाडि सारे ।
जमिन्दार वर्ग र दलाल वर्गका विरुद्ध चीनमा पुँजीवादी क्रान्ति आवश्यकता बन्न गएको थियो । माओले उनीहरूको वर्गीय चरित्रबारे स्पष्ट गर्दै अगाडि भनेका छन्– “आर्थिक दृष्टिले पिछडिएको र अर्ध औपनिवेशिक चीनमा जमिन्दार वर्ग र दलाल वर्ग पूरै रूपले अन्तर्राष्ट्रिय पुँजीपति वर्गका पिछलग्गु हुन् र तिनीहरू आफ्नो अस्तित्व र अभिवृद्धिका लागि साम्राज्यवादमाथि निर्भर रहेका छन्” (उही) । प्रतिक्रियावादी उत्पादन सम्बन्धको प्रतिनिधित्व गर्ने यी वर्ग चिनियाँ क्रान्तिका लागि प्रधान दुश्मन थिए । मध्यम पुँजीपति वर्ग, निम्न पुँजीपति वर्ग, धनी किसानवर्ग, मध्यम किसानवर्ग, गरिब किसानवर्ग, अर्ध–सर्वहारा वर्ग र सर्वहारा वर्ग पनि चिनियाँ समाजमा रहेका वर्गका हिस्सा थिए । ढुलमूल, सम्झौतापरस्त, अवसरवादी रुझान भएका वर्ग पनि जमिन्दार र दलाल वर्गका विरुद्ध उभिँदासम्म क्रान्तिका मित्रपक्ष हुन सक्ने भएकाले तिनीहरूलाई क्रान्तिकारी सङ्घर्षमा उपयोग गर्नुपर्ने कुरामा माओले जोड दिए ।
सर्वहारा वर्ग, जो कम्युनिस्ट पार्टीलाई प्रतिनिधि संस्थाको रूपमा अगाडि सारेर सङ्घर्षरत भइरहेको थियो, त्यसलाई सजक बनाउँदै माओले अगाडि भने– “युद्धपति, नोकरशाह, दलाल वर्ग, ठुलो जमिन्दार वर्ग र तीसित सम्बन्धित बुद्धिजीवी समुदायको प्रतिक्रियावादी अङ्ग साम्राज्यवादसित साँठगाँठ भएका यी सब हाम्रा शत्रु हुन् । हाम्रो क्रान्तिमा नेतृत्वदायी शक्ति औद्योगिक सर्वहारा वर्ग हो । सम्पूर्ण अर्ध–सर्वहारा वर्ग र निम्न पुँजीपति वर्ग हाम्रा घनिष्ठतम मित्र हुन् । जहाँसम्म ढुलमूल मध्यम पुँजीपति वर्गको सवाल छ, तिनीहरूको दक्षिणपन्थी अङ्ग हाम्रो शत्रु र वामपन्थी अङ्ग हाम्रो मित्र बन्न सक्छन्, तर हामी निरन्तर सावधान रहनुपर्छ र हामीले उनीहरूलाई आफ्ना पङ्क्तिभित्र भ्रम सिर्जना गर्न दिन हुन्न” (माओ : ६) ।
माओले भनेका कुरालाई हामीले राम्रोसँग बुझ्नुपर्दछ र त्यो बुझाइ सिर्जनात्मक हुनुपर्दछ । यान्त्रिक बुझाइबाट हामीले हाम्रो समयको क्रान्तिको कामलाई अगाडि बढाउन सक्दैनौँ । माओले वर्गविश्लेषण गरिरहँदा क्रान्तिका मित्रशक्तिप्रति विशेष ध्यान आकर्षित गरेका छन् । यसको अर्थ थियो– पार्टीभित्रको दक्षिणपन्थी भड्काव त क्रान्तिविरोधी नै थियो, जसलाई क्रान्तिकारीले परास्त गर्नैपर्दथ्यो । तर यसका साथै पार्टीभित्र अर्को प्रवृत्ति पनि थियो, जसले क्रान्तिका मित्रशक्तिलाई जानअञ्जानमा दुश्मनको कित्तामा उभ्याउँथ्यो । यो भड्कावले क्रान्तिकारी परिवर्तनका विभिन्न सम्भावनालाई देख्न सक्दैन्थ्यो वा अस्वीकार गर्दथ्यो ।
त्यसलाई परास्त नगरेर क्रान्तिका मित्रशक्तिलाई क्रान्तिको पक्षमा ल्याउन सम्भव हुँदैन्थ्यो । माओले वर्गविश्लेषण गरेर विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिए । तेस्रो विश्वका मुलुकमा क्रान्तिको कार्यक्रमका लागि वर्र्गविश्लेषण एउटा ठोस र मूर्त राजनीतिक प्रश्न बन्न गयो, जसलाई माओले बाटो देखाए । ठोस स्थितिको ठोस विश्लेषण अन्तर्गत वर्गको विश्लेषण गर्नु पनि एउटा हो । यसले कम्युनिस्ट पार्टी वैचारिक क्षमताको प्रश्नलाई आकर्षित गरिरहेको हुन्छ ।
किसानवर्गको शक्तिको विश्लेषण र निष्कर्ष
का. माओले किसानवर्गलाई क्रान्तिकारी शक्तिको रूपमा तथ्यसहित स्पष्ट गर्नु नयाँ जनवादी क्रान्तिको एउटा मुख्य आधार थियो । सर्वहारा वर्गलाई नेतृत्वकर्ता बताएर किसानवर्गलाई क्रान्तिको आधारभूत वर्गको रूपमा औँल्याउनु नयाँ जनवादी क्रान्तिमा योगदान हुने पक्षको शक्तिबारे गरिएको एउटा विमर्श थियो । तथ्यहरूले स्पष्ट गर्दै गए कि माओले वर्गविश्लेषण गरेर चीनको क्रान्तिमा किसानवर्गको भूमिकाबारे जुन धारणा अगाडि सारे, त्यसलाई चीनको क्रान्तिमा एउटा सिद्धान्तको रूपमा आत्मसात् गरियो ।
चीनको क्रान्तिमा जमिन्दार वर्ग र दलाल वर्ग मात्र विरोधी पक्ष थियो, जो जापानी साम्राज्यवादको बुई चढेर चीनका जनतामाथि अत्याचार गर्दथ्यो, त्यसका विरुद्ध समस्त चिनियाँ जनताको मोर्चा बन्न गयो, जुन नयाँ जनवादी क्रान्तिको रूपमा व्यक्त भयो, जसलाई कम्युनिस्टले नेतृत्व गरेका थिए । किसानवर्गको शक्तिबारे जानकारी लिनाको लागि हुनानमा किसान आन्दोलनको गम्भीरतापूर्वक अनुसन्धान भयो र त्यसबारे एउटा प्रतिवेदन नै तयार भयो । पार्टीभित्र र बाहिर पनि हुनानमा किसानको सङ्घर्षको तीब्र आलोचना भइरहेको समयमा आलोचकलाई जवाफ दिनका लागि माओले हुनानको किसान आन्दोलनको अनुसन्धान गरी प्रतिवेदन तयार पारेका थिए । उनी स्वयम्ले ३२ दिनसम्म हुनान क्षेत्रमा गई वस्तुगत अध्ययन गरेर यो प्रतिवेदन तयार गरेका थिए ।
यो लेख १९२७ मा लेखिएको थियो, जुनबेला हुनानमा किसान आन्दोलनले उचाइ लिइरहेको थियो । पार्टीभित्र र बाहिर उक्त किसान आन्दोलनको आलोचना भइरहेको बेला माओको यो लेखले किसानवर्गलाई निकै सम्मान प्रदान गर्नुका साथै उनीहरूको आन्दोलनको औचित्यता र मुक्तिको महान्् उद्देश्य अन्तर्निहित भएको कुरा प्रष्ट पारेको थियो । त्यसले किसानवर्गलाई क्रान्तिको एउटा महान् शक्तिको रूपमा परिभाषित गर्नुका साथै कम्युनिस्ट पार्टीका उद्देश्य पूरा गर्नका लागि किसानवर्गको भूमिका महत्वपूर्ण भएको कुरालाई पनि स्पष्ट गरेको थियो ।
का. माओले त्यो किसान आन्दोलनको अनुसन्धान गरेर किसान आन्दोलनका समस्याको चर्चा गर्नुका साथै त्यो आन्दोलनको तारो बनेका जमिन्दार र दलाल वर्गको विरोध र पार्टीभित्रको आलोचनालाई पनि खण्डन गरिदिए । उनले किसान समस्याका विषयलाई तथ्यपूर्ण ढङ्गले प्रस्तुत गर्नुका साथै किसानलाई सङ्गठित हुन आह्वान गरे । किसानले आफ्नो अधिकारका लागि चलाएको सङ्घर्षलाई कोमिन्ताङ सत्ताले ‘आवाराको आन्दोलन’ भनेर निर्मम दमन गरेको थियो । तर माओले कोमिन्ताङ सत्ताको त्यो घिनलाग्दो कर्तुतको खण्डन गर्दै हुनान किसान आन्दोलनका ऐतिहासिक चौधवटा उपलब्धिलाई पेश गरे ।
ती उपलब्धिमा किसानलाई व्यापक रूपमा किसान सङ्घमा सङ्गठित गरिनु, जमिन्दारमाथि राजनीतिक प्रहार गरिनु, जमिन्दारमाथि आर्थिक प्रहार गरिनु, स्थानीय अत्याचारी र खराब घरानियाँको सामन्ती शासनको तख्ता पल्टाउनु र जिल्ला र नगरलाई ध्वस्त पारिनु, जमिन्दारको सैन्य शक्तिलाई खतम पार्नु र किसानको सैन्य शक्तिको निर्माण गर्नु, काउन्टी मजिस्ट्रेट र उसका कारिन्दाको राजनीतिक सत्तालाई खतम पार्नु, रूढीवाद र अन्धविश्वास एवम् पुरुष सत्तालाई पल्टाउनु, राजनीतिक प्रचारको विस्तार गर्नु, किसानद्वारा (तासजुवाजस्ता खेल, अफिमको प्रयोग, विभिन्न अश्लील अभिनयमाथि प्रतिबन्ध, अत्याधिक अनाजको प्रयोग गरी रक्सी निर्माण गर्ने, अनावश्यक भोज खर्च लगायत आदि) विभिन्न कुरामाथि प्रतिबन्ध लगाउनु, डकैतीलाई निर्मूल पार्नु, चर्को कर हटाउनु, शिक्षाको लागि आन्दोलन, सहकारी आन्दोलन र सडक बनाउनु र बाँधको निर्माण गर्ने जस्ता विषयमा माओले शीर्षक राखेर नै किसान सङ्घर्षका महान् उपलब्धिको तथ्यपूर्ण प्रतिवेदन अगाडि सारे । यसरी क्रान्तिको इतिहासमा उपेक्षित बनेको किसान वर्गको शक्ति र त्यसले क्रान्तिमा दिने ऐतिहासिक योगदानलाई माओले वैज्ञानिक र तथ्यपूर्ण आधारबाट पुष्टि गरे । त्यसपछि क्रान्तिको जीवनमा किसान वर्गलाई क्रान्तिको अभिन्न शक्तिको रूपमा सम्मानित गर्न थालियो र तेस्रो विश्वका मुलुकमा त किसानवर्गको धेरै क्रान्तिकारी महत्व हुने कुरा पुष्टि भयो ।
का. माओले किसान वर्गलाई मजदुर वर्गको मित्रको रूपमा चित्रित गर्नुका सार्थ मजदुर र किसानबिचको अन्तर्विरोधलाई मैत्रीपूर्ण ढङ्गबाट हल हुन सक्ने आधार प्रदान गरे । किसान वर्ग सानो जमिनको मालिक भए पनि त्यो वर्ग दिन–प्रतिदिन सर्वहारा बन्दै गइरहेको तथ्यलाई पनि माओले विस्तृत रूपले व्याख्या गरे । किसान वर्ग स्वयम्मा शोषितजनको समुदाय भएकाले समृद्ध समाज र न्यायिक जीवन बाँच्ने आधार प्राप्त गर्नका लागि किसान वर्गले आफूलाई सर्वहाराकरण गर्दै लैजानु र सर्वहारा वर्गको राज्यसत्तामा मजदुर वर्गको हैसियतमा सामेल हुनुको विकल्प नहुने कुरालाई का. माओले प्रष्ट गरे । समग्रमा, किसान वर्गलाई साथमा लिएर र मित्रतापूर्ण सम्बन्धबाट मात्र मजदुर वर्गले पुँजीवादी क्रान्तिलाई सम्पन्न गर्न सक्दछ र त्यो राजनीतिक क्रान्ति पूरा भएपछि समाजवादी व्यवस्थातर्फ उसले शान्तिपूर्ण पाइला उठाउन सक्दछ भन्ने तथ्यलाई माओको किसानवर्गसम्बन्धी भएको विश्लेषणले सही सिद्ध गरेको छ र त्यो कुरा स्वयम् १९४९ को चिनियाँ क्रान्तिद्वारा पनि पुष्टि भइसकेको छ ।
ग्रामीण वर्गसङ्घर्षको अवधारणा
का. माओले किसानवर्गलाई एक महत्वपूर्ण क्रान्तिकारी शक्तिको रूपमा अथ्र्याउने काम मात्र गरेनन् । उनले किसान वर्ग क्रान्तिको महत्वपूर्ण शक्ति किसान वर्ग हो भने त्यसले कसरी आफ्नो भूमिका निर्वाह गर्दछ भन्ने पक्षलाई केलाएर विश्लेषण गरेका छन् । मजदुरवर्ग त औधोगिक क्षेत्रमा हुन्छ र पुँजीपति वर्गसित सीधा अन्तर्विरोध राख्दछ । तर किसानवर्गको राजनीतिक आन्दोलन अलि फरक हुन्छ, त्यसको सङ्घर्षको प्रक्रिया पनि फरक हुन्छ । यो वर्गले ग्रामीण भेगमा नै आफ्नो सङ्घर्षलाई तीब्र बनाएर लैजाने हो र जमिन्दार वर्गलाई तहसनहस बनाउँदै सङ्गठित बन्ने हो भन्ने कुरालाई माओले स्पष्ट गरे ।
किसान जुन वर्गबाट शोषणमा परेका छन्, उनीहरूले त्यही वर्गका विरुद्ध नै आफ्नो सङ्घर्षलाई चर्काएर लैजानुपर्छ भन्ने सिद्धान्तलाई माओले अगाडि सारे । यसको अर्थ थियो– कम्युनिस्ट पार्टी किसानको बिचमा जानुपर्दछ र उनीहरूलाई किसान सङ्घमा सङ्गठित गर्नुपर्दछ । सारा किसानलाई शोषक वर्गबारे स्पष्ट गर्दै उनीहरूलाई सङ्गठित हुनाका लागि सैद्धान्तिक र राजनीतिक चेतना प्रदान गर्नुपर्दछ । यसका लागि ग्रामीण वर्ग सङ्घर्षको कार्यक्रम नै महत्वपूर्ण हुन्छ भन्ने निष्कर्षका साथ माओले ग्रामीण वर्गसङ्घर्षको सिद्धान्तलाई प्रयोगमा ल्याए ।
माओको ग्रामीण वर्गसङ्घर्षको सिद्धान्तलाई आत्मसात गरेर चिनियाँ किसानवर्गले ठुला ठुला किसान सङ्घर्ष अगाडि बढायो । कम्युनिस्ट पार्टीलाई विस्तार र व्यवस्थित हुनका लागि ती ग्रामीण वर्गसङ्घर्षले ठुलो योगदान पु¥याए । सर्वहारा वर्गीय दृष्टिकोणबाट किसानको महत्वपूर्ण हिस्सा प्रशिक्षित बन्यो र कम्युनिस्ट पार्टीमा सामेल भयो । त्यसरी ग्रामीण वर्गसङ्घर्ष खालि जमिन्दार, साहु, महाजन आदि शोषक वर्गका विरुद्ध चल्ने किसान अभियानको रूपमा मात्र रहेन, त्यसले हजारौँ कम्युनिस्ट कार्यकर्ता उत्पादन गर्ने हैसियतलाई पनि उत्तिकै प्रभावकारी रूपले पुष्टि गरिदियो । माओको ग्रामीण वर्गसङ्घर्षको सिद्धान्तलाई पथप्रदर्शक सिद्धान्तको रूपमा अङ्गालेर चीनमा कम्युनिस्ट पार्टीले किसानका साथमा जनवादी क्रान्तिलाई सफल बनाउने लक्ष्य हासिल गरेको थियो ।
गाउँबाट शहर घेर्ने रणनीति
माओ विचारधाराको एउटा महत्वपूर्ण सिद्धान्त गाउँबाट शहर घेर्ने रणनीति हो । खासगरी, सर्वहारा वर्गको विकास नभएका मुलुकमा क्रान्तिको कार्यक्रमबारे माओले नयाँ सिद्धान्त अगाडि सार्ने क्रममा यो सिद्धान्तको औचित्यता पुष्टि भएको देखिन्छ । किसान गाउँमा रहने, उनीहरू विभिन्न समस्याले पिरोलिएको अवस्था, उनीहरूका बिचमा पनि विभिन्न श्रेणी कायम भएको अवस्था, जमिन्दार वर्ग र दलालवर्गसितको टक्कर आदि महत्वपूर्ण घटना किसान समुदाय आवासीय क्षेत्रमा सबैभन्दा बढी हुने कुरालाई माओले निक्र्यौल गरे । त्यहाँ शोषितवर्ग भनेको किसानवर्ग हो र त्यसमध्ये सबैभन्दा ठुलो सङ्ख्यामा गरिब किसान हुन्छन् भन्ने तथ्य पत्ता लागेपछि क्रान्तिकारी शक्ति को हो भनेर बुझ्न कठिन पर्दैन । माओले यो तथ्यलाई व्यावहारिक रूपले नै बुझेर किसानलाई सङ्गठित गर्ने र ग्रामीण वर्गसङ्घर्षलाई चर्काउनुपर्ने आवश्यकतामा जोड दिए ।
त्यसरी गाउँमा चल्ने किसान आन्दोलन, ग्रामीण वर्गसङ्घर्ष आदिले जमिन्दार र दलाल नोकरशाह स्थानीय सत्ताबाट च्यूत हुँदै र भाग्दै शहरतिर पस्दछन् । जमिन्दार र दलालको संरक्षकको रूपमा रहेको सत्ताले किसानमाथि दमन गर्दै जान्छ, त्यो दमनको किसानले प्रतिरोध गर्दै विजय पनि हासिल गर्दै जान्छन् । किनभने सबैभन्दा ठुलो शक्ति जनसमुदायको एकता हो । त्यो एकताका कारण दलाल सत्ता पनि पराजित हुँदै शहरतिर सीमित हुन थाल्दछ । यसरी गाउँबाट शहर घेर्ने रणनीतिलाई किसानको महत्वपूर्ण भूमिकाले सफल तुल्याउने भएकाले का. माओले यो सिद्धान्तलाई तथ्यसहित जनवादी क्रान्तिको सिद्धान्तको रूपमा विकास गरे ।
जनसेनाको अवधारणा
चीनमा प्रतिक्रियावादी व्यवस्थाका विरुद्ध लामो सङ्घर्ष चल्दै आएको थियो । १९२१ अर्थात् चीन कम्युनिस्ट पार्टी स्थापना भएपछिका वर्ष निकै सङ्घर्षपूर्ण रहे । विभिन्न किसान सङ्घर्ष चल्नुका साथै लामो अभियान सञ्चालन भएको थियो । क्वामिन्ताङ सेनाले जनताको सङ्घर्षलाई निर्ममतापूर्वक दबाउँदै जापानी साम्राज्यवादको कठपुतलीको रूपमा काम गर्न थालेपछि त्यसको राष्ट्रिय चरित्रमा निकै नै ह्रास आइसकेको थियो । यस प्रकारको अवस्थामा माओ नेतृत्वमा चीनको कम्युनिस्ट पार्टीले चीनको सार्वभौमिकताको रक्षा जनताको सेनाबाट मात्र हुन्छ भन्ने कुरा निदान ग¥यो । मुक्तिका लागि काम गर्नु भनेको देशको पुरानो सत्तालाई भत्काउनुको साथै जापानी साम्राज्यवादलाई समेत पराजित गर्नु नै थियो । त्यो कुनै सजिलो कुरा थिएन ।
तर पनि चीनका जनताको ठुलो सहयोग प्राप्त गरिरहेको चिकपाले जनसेनाको अभियानलाई अगाडि बढायो । राजनीतिक, वैचारिक र सैद्धान्तिक मूल्य बोकेको कम्युनिस्ट अनुशासनले सङ्गठित बनाइएको सेनाको निर्माण पार्टीको राजनीतिक कार्यक्रमबाट अगाडि बढ्दै र विकास हुँदै गएको थियो । चीनको तत्कालीन अवस्थामा क्वामिन्ताङ सत्ता, जापानी साम्राज्यवाद अधिनस्थ चीनक्षेत्र र कम्युनिस्ट स्थानीय सत्ता चलिरहेको थियो । खासगरी कम्युनिस्ट स्थानीय सत्तालाई ध्वस्त बनाउनका लागि कोमिन्ताङ र जापानी साम्राज्यवादको गठबन्धन भइरहन्थ्यो । त्यसरी देशको सार्वभौमिकता र जनताको मुक्तिको विषयलाई कम्युनिस्ट पार्टीले मात्र अगाडि बढाइरहेको थियो । त्यो अवस्थामा स्थानीय सत्ताको सुरक्षा र अरू क्रान्तिकारी अभियानमा सफलता हासिल गर्नका लागि पनि जनसेनाको अवधारणा भविष्यमा माओ विचारधाराको सैन्य सिद्धान्तको रूपमा विकास भएको थियो ।
संयुक्त मोर्चाको नीति
राष्ट्रिय क्रान्तिमा संयुक्त मोर्चाको नीतिलाई का. माओले व्यावहारिक रूप दिएको पाइन्छ । जनताको संयुक्त मोर्चाको नीतिलाई समृद्ध र प्रभावकारी तुल्याउनका लागि माओद्वारा भएको वर्गविश्लेषणको सिद्धान्तले धेरै ठुलो महत्व राख्दथ्यो । चीनको क्रान्तिको लागि संयुक्त मोर्चाको नीति वैज्ञानिक र प्रभावकारी भयो । यो नीतिले राष्ट्रिय पुँजीपति वर्गदेखि सर्वहारा वर्ग सम्मलाई जमिन्दार र दलाल सत्ता भत्काउनका लागि एकताबद्ध बनायो । त्यसरी जनताको संयुक्त मोर्चाको शक्तिले चीनमा जनवादी क्रान्ति सम्पन्न हुन गयो ।
माओ विचारधारा
माथि उल्लेख भएका विषय माओ विचारधाराका आधार हुन् । आज माओ विचारधारा अझ महत्वपूर्ण सिद्धान्तको रूपमा अगाडि आएको छ । चीनमा जनवादी क्रान्तिका लागि का. माओले माक्र्सवाद–लेनिनवादको सृजनात्मक विकासका रूपमा क्रान्तिको नयाँ व्यवहारलाई प्रयोगमा ल्याए । यो प्रयोगले अर्धसामन्त र अर्धऔपनिवेशिक मुलकका क्रान्ति र उनीहरूको सार्वभौमिकता एवम् स्वतन्त्रताको आन्दोलनलाई सफलीभूत पारिदियो । आजको साम्राज्यवादी युगमा कसरी राष्ट्रिय क्रान्ति गर्ने र साम्राज्यवाद विरोधी अभियानलाई सफल पार्ने भन्ने विषयलाई माओ विचारधाराले निकै महत्वपूर्ण आधार प्रदान गर्दछ ।

क्रान्तिका योजनालाई सफल पार्न पुँजीवादी मुलुकमा पनि कम्युनिस्ट पार्टीले माओ विचारधारलाई एक मार्गनिर्देशक सिद्धान्तको रूपमा लिनुपर्दछ । आधुनिक संशोधनवादका विरुद्ध माओको नेतृत्वमा चलेको महान् बहस र पुरानो सांस्कृतिक मूल्य भत्काउनका लागि भएको सर्वहारा सांस्कृतिक क्रान्तिका मूल्य जोडेर अजेय माओ विचारधाराको सिद्धान्त बन्दछ, जसलाई हामीले गौरवतापूर्वक मार्गदर्शक सिद्धान्तको रूपमा अँगाल्दै आएका छौँ । कम्युनिस्ट आन्दोलनको आजको रक्षात्मक परिस्थितिमा पनि हामीले माओ विचारधारालाई माक्र्सवाद–लेनिनवादको सृजिनशील र प्रायोगिक मूल्यका रूपमा लैजानुपर्दछ । यो झण्डा कहिल्यै पनि झुक्ने छैन, जतिबेलासम्म मानवजाति अस्तित्वमा रहने छ । माक्र्सवाद–लेनिनवाद–माओ विचारधारा – जिन्दावाद ।