काठमाडौँ । प्रगतिशील लेखक सङ्घको आयोजनामा सन्ताउन्नौँ परिसंवाद सम्पन्न भएको छ । “माक्र्सवादी दृष्टिमा भाषा” विषयक सो गोष्ठी २०७९ भदौ ३ गते बागबजार काठमाडौँमा सम्पन्न भएको हो ।
भाषाविज्ञ प्रा.डा. देवीप्रसाद गौतम विषयवस्तु प्रस्तोता रहनुभएको उक्त कार्यक्रममा भाषालाई विशेष गरेर भाववादी, अध्यात्मवादी र माक्र्सवादी दृष्टिकोणबाट विश्लेषण हुँदै आएकाले भाषा, विचारबाट अलग हुन नसक्ने बताइयो ।
अमेरिकी वामपन्थी नोम चोम्स्कीले भाषालाई भाववादी प्रकारले विश्लेषण गरेको बताउदै प्रा.डा. गौतमले भाववादी तथा अध्यात्मवादी विश्लेषणले वस्तुगत यथार्थलाई सम्बोेधन गर्न नसक्ने बताउनुभयो । भाषाको सम्बन्धमा स्टालिनले नै वैज्ञानिक प्रकारले व्याख्या बताउँदै उहाँले भाषा आधार र अधिरचनाको आधारमा व्याख्या गर्न नसकिने बताउनुभयो ।
भाषाको वर्गचरित्र हुने बताउँदै भाषाको सम्बन्धमा हामीले व्यवहारमा कमजोरी गर्दै आएको बताउनुभयो । महिला राष्ट्रपतिलाई ‘भनिन्’ भन्ने तर पुरुष राष्ट्रपतिलाई ‘भन्नुभयो’ भन्नु पुरुषवादी सोच भएको उहाँको तर्क थियो । ‘भाषाको स्वतः कमजोरी नगर्ने तर समाजको मूल्य व्यवस्थाले नै सामाजिक असमानता देखाउने बताउँदै उहाँले भाषा भौतिक व्यवस्थाको अभिव्यक्ति भएको बताउनुभयो ।
सङ्घका अध्यक्ष डा. मधुसुदन गिरीको अध्यक्षतामा अगाडि बढेको परिसंवाद कार्यक्रमका संयोजक समीर सिंहले नेपाली समाजमा वर्षौंदेखि एउटा भाषा, एउटा संस्कृति, एउटा जातिका, एउटा लिङ्गको आधारमा विभिन्न सामाजिक असमानता रहेको’ बताउँदै यी सबै विभेदपूर्ण आन्दोलनको नेतृत्व वर्गसङ्घर्षले गर्नुपर्ने बताउनुभयो ।
उपाध्यक्ष नमुना शर्माले सञ्चालन गर्नुभएको सो कार्यक्रममा प्रा.डा. जीवेन्द्र देव गिरी, डा. गोपाल ठाकुर, लोकबहादुर थापा, शेखर अर्याल, तेजविलास अधिकारी, आरसी न्यौपाने, धनबहादुर मगर, शान्ता मानवी, ईश्वरी शर्मा, कमल कार्की, पार्वती राउत, सुधा मैनाली, रामचन्द्र खतिवडा, समीर सिंहलगायतले पूरक टिप्पणी गनुभएको थियो ।